इटहरीः आफ्नै शैलीमा चल्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकी कारबाहीमा परेका छन् । उनीबाट कार्यालयका अन्य प्रहरी कर्मचारीहरु पनि कार्यशैलीबाट आजित भएका थिए । प्रहरीको बर्दी लगाएर शक्तिको दुरुपयोग गरेका कारण उनलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको हो ।
बुढाथोकीलाई तीनदिन भित्र दंगा नियन्त्रण गण दुहवीमा हाजिर हुन भनिएको र बेलबारीमा जिल्ला प्रहरी कार्यालय बिराटनगरमा कार्यरत ऋषिराज ढकाललाई खटाईएको प्रहरीले जनाएको छ । प्रहरी श्रोतले भने बुढाथोकी कारबाही नगरेको भन्दै काज सरुवा मात्र भएको दावी गरेको छ ।
बुढाथोकी बेलबारी आएदेखी नै शक्तिको दुरुपयोग गर्दै दादागिरी शैलिमा प्रस्तुत हुने गरेका थिए । बाहिर सिंहम इन्सपेक्टर भनाउँदै निजी घुमुवा राखेर असुली धन्दा नै चलाउँदै आएका थिए ।
त्यसबेला मोरङका प्रहरीका प्रमुख बिश्व अधिकारीको बिशेष निगाह पाएका बुढाथोकी कारबाहीबाट बचेका थिए । त्यसबेला घुमुवा प्रहरी हवल्दार पदम बिष्ट भने कारबाहीमा परेका थिए ।
केहिदिन पहिला बुढाथोकीले बिराटनगरमहानगरपालिकाका मेयरका स्वकिय सचिव त्रिभुषण गिरीलाई इप्रका बेलबारीमा दिनभर थुनेका थिए । इन्स्पेक्टर बुढाथोकीले आफ्नी श्रीमतीलाई गिरीले जिस्क्याएको भन्दै मेयरका स्वकीय सचिव गिरीलाई बैशाख ३ गते दिनभर हिरासतमा थुनेका थिए ।
इलाका प्रहरी कार्यालय बेलवारीका इञ्चार्ज इन्स्पेक्टर बुढाथोकीले शक्तिको दुरुपयोग गर्दै श्रीमती जिस्क्याएको आरोपमा थुनेपछि नेपाल प्रहरीले बिभागिय कारबाही गरेको हो । बिराटनगर बस्दै आएका गिरीले प्रहरीको श्रीमती जिस्क्याएको मौखिक उजुरी प्रहरीमा परेको थियो । त्यसबारे पहिले वडा प्रहरी कार्यालय बिराटनगरमा प्रहरी र गिरीबीच छलफल भएको थियो ।
थप छलफलका लागि इलाका प्रहरी बेलबारीले गिरीलाई बोलाएपछि उनी बैशाख ३ गते बुधबार दिउँसो बेलबारी पुगेका थिए । आँफै छलफलका लागि पुगेका गिरीलाई इप्रका बेलबारीले दिनभरि हिरासतमा राखेर साँझ मात्र रोहवरमा छाडेको थियो ।

94431594_657071461534961_5935800946608046080_n
गिरीले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै आएका छन् । उनले आफ्नो इस्टाग्रामको आइडी कसैले दुरुपयोग गरेको बताएका छन् । वडा प्रहरी कार्यालयमा सामान्य छलफल हुँदा गिरीले पाठएको भनिएका म्यासेजहरु आपत्तिजनक नदेखिएको बताइएको छ । बेलबारीका इञ्चार्जले शक्तिको दुरुपयोग गर्दै गिरीलाई बोलाएर बिनाकारण थुनामा राखी मानसिक यातना दिएको त्यतिबेलै सार्वजनिक भएको थियो ।
त्यती मात्रै होइन, उनले सुन्दरहरैंचाको विराटचौंक घर भएका एक बैंकमा कार्यरत कर्मचारीलाई फेसबुकमा स्टाटस लेखेकै आधारमा अपराधिक शैलीमा इलामबाट जबरजस्ती ल्याएका थिए । तर उनले ती बैंकका कर्मचारीलाई ल्याउदै गर्दा बाटोबाटै छोड्नु परेको थियो । ती कर्मचारीले बेलबारीका प्रहरी प्रमुखको कार्यशैली हेर्दा सुन्दरहरैंचा प्रवेशमा रोक लगाउनु पर्छ भन्ने स्टाटस फेसबुकमा राखेका थिए ।
विभागका लागि राम्रो काम गरेता पनि स्थानीय तहमा भने रुखो शैलीमा आफुले जे मन लाग्छ त्यही अनुसार अगाडी बढेका कारण उनिबाट स्थानीय धेरै व्यक्तिहरु चिडिएका थिए । इलाका प्रहरी कार्यालय रहदा उनले आफु मातहतमा प्रहरी कर्मचारीहरुलाई एक छिनमा एउटा आदेश दिने र त्यसको केही समयमै अर्को आदेश दिने जस्ता कार्य गरेर हैरान बनाएका थिए ।