इटहरीः कम्तीमा एक साता लकडाउको समय बढाउने बारे निर्णय लिन आज मन्त्रिपरिषद बैठक बस्दै छ। प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकाल्दै कम्तीमा एक साता थप गर्नु पर्ने राय सहित सरकारलाई सिफारिस गरेको थियो । सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको बुझिएको छ । सरकारले हिमाली क्षेत्रमा लकडाउन केही खुकुलो बनाउने तर तराई र पहाडी क्षेत्रमा एक सातासम्म हालकै अवस्थामा लकडाउन कायम राख्ने निर्णय गर्ने बालुवाटार श्रोतले बताएको छ । सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष पनि निकालिएको छ। कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ । यसअघि लकडाउन तीन पटकसम्म थपिएको सकिएको छ ।