धरानः बिशेष सूचनाका आधारमा प्रहरीले धरानका दुई वडाबाट दुई थान हतियार सहित दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरीले उनिहरुलाई दुई थान हतियार सहित पक्राउ गरेको हो ।
प्रहरीले धरान १३ निवासी ४० बर्षीय मुलुकसिंं लिम्बु र धरान ११ मा डेरा गरि बस्ने झापा अर्जुनधारा ७ घर भएका १९ बर्षीय प्रक्षित जंग क्षेत्रीलाई हतियार सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेले बताएका छन् ।
शुक्रबार राती करिब ९ बजे उनिहरुलाई २ वटा वडाबाट १२ बोरको बन्दुक र अर्को राइफलको म्याग्जिन, गोलीसहित पक्राउ गरिएको हो । धरान ११ स्थित सुचिम राईको घरको तलासी लिदा डेरा गरी बस्ने प्रक्षितजंग क्षेत्रीको कोठाबाट मेड्इन क्यानाडा लेखिएको १२ बोरको बन्दुक भेटिएको धरान प्रहरीले बताएको छ । मुलुकसिंहले मेड इन क्यानडा लेखिएको १२ बोर बन्दुक १५ हजार रुपैयाँमा बन्धकी राखेको बुझिएको छ । लाइसेन्स प्राप्त हतियार भए पनि बन्धकी लगाएका कारणले उनलाई पनि पक्राउ गरिएको हो ।
४० वर्षीय मुलुकसिंह बेलायत सेनामा पनि केही समय कार्यरत रहेर फर्किएका व्यक्ति हुन् । उनी पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा समेत फसेको बुझिएको छ । लागूऔषधकै लागि उनले सो बन्दुक बन्धकी राखेको स्थानीयले दावी गरेका छन् ।
प्रहरीले फेला पारेको सो बन्दुक मुलुकसिंह लिम्बुको भएको खुलेपछि तत्काल उनको घरमा प्रहरीले खानतलासी गर्दा लङ राइफर र सो राइफलमा प्रयोग हुने म्यागजिन एक थान र गोली २ राउण्ड २ फेला परेको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए । जिल्ला अदालतबाट मुलुकी अपराध (संहिता)ऐन, २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा पक्राउ परेकाहरुलाई म्याद थप गरिएको छ । म्याद थप भई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका उनिहरुमाथि आवश्यक अनुसन्धान थालिएको न्यौपानेले बताए ।