इटहरीः आज साँझ बसेको मन्त्रि परिषद बैंठकले लकडाउनको समय थप १० दिने बढाउने निर्णय गरेको छ । बैंठकले बैशाख २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । सरकारले पछिल्लोपटक थप गरेको लकडाउनको समयावधि भोलि सकिदै छ ।
मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि १० दिन थप्ने निष्कर्ष निकालिएको हो ।
उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।
चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो । सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको निचोड निकालेको छ ।
वैशाख ३१ गतेसम्म सीमा सिल गरिने
त्यसैगरि सरकारले वैशाख ३१ गतेसम्म अन्तर्रा्ष्ट्रिय सीमाना बन्द (सिल) गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै छिमेकी देशको अवस्था हेरेर वैशाख ३१ गतेसम्म दुवैतर्फका नाका बन्द राख्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
अहिलको परिस्थिति हेरेर वैशाख मसान्तसम्म सीमानाका बन्द गर्ने र वैशाख २५ गते मध्यरातिसम्म लकडाउन कायम राख्ने निर्णय गरिएको उनले बताए । सरकारले अवस्था हेरेर उद्योग, धन्दा, कलकारखाना सञ्चालन गर्न दिने तयारी पनि गरेको उनले बताए ।