बिर्तामोडः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाको छोराको विवाहमा जम्मा सात जना जन्ती लगेर सम्पन्न गरेका छन् । आइतबार कांग्रेस नेता सिटौलाले बुहारी भित्र्याएका छन् ।

देश लकडाउनसंगै कोरोना भाईरसको संक्रमणसँग लडिरहेका बेला कांग्रेसका नेता सिटौलाले सामाजिक दुरी कायम गरी छोराको विवाह गरिदिका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिने जोखिमलाई कम गर्न सरकारले २५ जनाभन्दा धेरै भेला भएर कुनै पनि सामाजिक, घरायसी कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

केहीले भने धार्मिक आस्था र पारिवारिक आवसेकताका आधारमा सरकारले तोकेको संख्या अनुसारको संख्या र सामाजिक दुरीलाई कायम राख्दै कार्यक्रमहरू आयोजना गरेका छन् ।

झापाको विर्तामोडस्थित जात्रुबाडी चोकमा एक व्यवसायी, समाजसेवीको घरमा पनि विवाहको कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडका विभिन्न संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय बन्दै आएका दम्पत्ती ओमकृष्ण विमली र पार्वता विमलीकी जेठी छोरी मनीषा विमलीको विवाह नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्यामबाबु सिटौलासंग सम्पन्न भएको छ ।

नेता सिटौला आफैमा राष्ट्रियस्तरमा परिचित व्यक्ति भएकाले सहज परिस्थितिमा भने छोराको विवाहमा आउने जन्तीहरू विशिष्ट व्यक्तिहरू र उल्लेखनीय संख्या हुने नै थियो ।

विमली परिवार पनि विर्तामोडका एक प्रतिस्ठित व्यापारी हुन् । उनको पनि समाजमा धेरैसंग परिचय रहेको छ ।

विवाह हुनु कुनै नौलो कुरा होइन । आइतबार लकडाउ रहेको अबस्थामा आयोजना भएको विवहा भने अन्य समयको भन्दा रोचक र अनौठो बनेको थियो ।

नेता सिटौला बेहुला छोरा र आफ्ना दुई जना अंग रक्षक र अरु ३ जना गरि ७ जनाको संख्यामा झापाको भद्रपुरस्थित चन्द्रगढीबाट जन्ती लिएर आएका थिए ।

वेहुलीको घरमा स्वागतका लागि १२ देखि १५ जनाको उपस्थिती रहेको थियो । आएका जन्तीलाई प्रवेश गर्नुअघि गेटकै छेउमा राखेको साबुन पानीले हात धुन लगाइयो ।
हात धोइसकेपछि सेनिटाईजर हातमा लगाएर मात्र प्रवेश गराइएको थियो ।

सबैले अनिवार्य रुपमा मास्क प्रयोग गरेका थिए । घरपट्टिकाले पनि सबैले मास्क लगाएका थिए । बाजागाजा केही थिएन, महोल शान्त र सुनसान थियो । आएका जन्ती र घर गाउँलेहरू सामाजिक दुरी कायम गरेर बसेका थिए ।

विवाहको कर्म गर्दा आलोपालोसंगै गरिएको थियो । यस्ता कार्यक्रम भरसक नगर्दा नै उचित हुन्छ । यदि गर्नैपरे विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको सुरक्षा र सचेतनाका लागि अवलम्बन गर्नुपर्ने सबै बिधी र प्रक्रिया पूरा गर्नुपर्छ भन्ने सन्देश कांग्रेस नेता सिटौलाको छोराको विवाहले दिएको छ । रिपब्लिक दैनिकबाट