सुन्दरहरैंचाः लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी सुरक्षाबल नेपाल हाइवे चेक पोस्ट मोरङ सलकपुरले पनि कडाइ गरेको छ ।
सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाइवे हाई चेक पोस्ट सलकपुरले मंगलबार बिहानै लकडाउन उल्लंघन गरेका सवारी साधन र अत्यावश्यक रुपमा हिड्ने ब्यक्तिलाई केहीबेर नियन्त्रणमा लिइ सचेतना मुलक जानकारी गराएर छाडेको छ ।
लकडाउन उल्लंघन गर्ने क्रम बढेपछी सशस्त्र सलकपुरले मंगलबार बिहान अति आवश्यक सवारी साधनको समेत पास भएको नभएको चेकजाँच गरेको छ ।
कतिपय पास लिएका सवारी साधनको दुरुपयोग हुन थालेपछि सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाईवे चेक पोस्टले एम्बुलेन्स र अन्य अति आवश्यक बस्तु ओसारपसारको सवारिमा पनि छड्के चेक गरेको हो । सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाइवे हाई चेक पोस्ट सलकपुरका इञ्चार्ज प्रहरी निरीक्षक विदुर भट्टराईले बिहान लकडाउनमा कडाइ गरेसँगै लकडाउन उल्लंघन गर्ने कार्यमा कमी आएको बताए ।
चेकजाँचका क्रममा औषधिको सामान बोक्ने भनेर एउटा सवारीले किरानाको सामान बोकेको पाइएको छ । बिना पास तथा सिफारीस नलिएको सवारीमा मेडिकल सामाग्री भनेर चलेकट केक र केही थान सेनिटाजर बोकेको भेटिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।