इटहरीः खुल्ला सिमा जोडिएका कारण हुन सक्ने कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले सिमामा प्रवेशमा कडाई गरेको छ ।
प्रदेश नम्बर १ का भारतसँगका खुल्ला सिमानाहरुमा २४ सै घण्टा सशस्त्र प्रहरीको टोलि खटाएको छ ।
प्रदेश नम्बर १ का भारतसंगको खुल्ला सिमानामा जोडिएको इलाम, झापा, मोरङ्ग र सुनसरीको ३ सय २२ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले ३ सय ८ स्थानको इन्ट्री पोइन्टमा टोली खटाएको छ ।
सिमा नाकालाई कडाई गर्नका लागि प्रदेश १ भरीका सिमानाकाहरुमा नेपाल प्रहरी सहित ५ सय १२ स्थानमा सुरक्षाका लागि ५ हजार भन्दा बढी सशस्त्र र नेपाल प्रहरी खटिएको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन् ।
कोरोना संक्रमण फैलिन नदिन नेपाल र भारत दुबै तिर लकडाउनलाइ कडाइका साथ पालना गरिरहेको अबस्थामा सिमा क्षेत्रबाट कोही कसैलाइ आवतजावत गर्न नदिन सशस्त्र प्रहरी बलका जवानहरुले २४ सै घण्टा डिउटी गरिरहेका छन् ।
ड्युटीमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरुलाई पर्याप्त मात्रामा समुचित व्यवस्थापन गर्न नसकिएको बताउँदै मन्त्री कार्कीले तथापि सुरक्षाकर्मीहरुले दिनु भएको जनता प्रतिको सेवा उल्लेखनिय रहेको बताए ।
प्रदेश सरकारले सके सम्म टेन्ट, पाल, सुरक्षाकर्मीलाई ड्युटी स्थान सम्म आवतजावतका लागि प्रबन्ध गरिएको उनले बताए ।
भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ ।
सुनसरी जिल्लामा करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट र नेपाल प्रहरीका २ सय ३१ सुरक्षाकर्मीले निरन्तर निगरानी बढाइरहेका छन् ।विरगंज, उदयपुर, झापा र भोजपुरका कोरोना भाइरस संक्रमितसँग सुनसरीसँगको सम्बन्ध समेत जोडिएपछि जिल्लाले थप सतर्कता अपनाएको छ ।