धरानः नेपाल फोटो पत्रकार महासंघ सुनसरीले मंगलवार धरानमा पत्रिका बितरण गर्ने ४५ जना वितरकहरूलाइ राहत वितरण गरेको छ ।

धरानभरिका ४५ जना पत्रिका वितरकहरुलाई मंगलवार र वुधवार गरि दुई दिनमा राहत सामग्री वितरण गरिने नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङ राइले बताए ।राहतमा १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको थियो ।

धरानको सबै पत्रिकाको संचालकहरूसंग सहकार्य गरी वितरकहरूको नामावली संकलन गरे अनुसार राहत वितरण गरिएको चाम्लिङले बताए ।उनले भने, लकडाउनको कारण पत्रिका वितरण गर्ने हकरहरूमा सबैभन्दा समस्या हुन आउने देखिएकोले राहत प्रदान गरिएको हो ।

धरानबाट प्रकाशन हुने दैनिक पत्रिका ब्लाष्ट, औजार, कोशीपत्र, मर्निङ टाइम्स, फास्ट टाइम्स साथै पत्रपत्रिका पसलमा काम गर्ने वितरकहरूलाइ समेत राहत वितरण गरिएको उनले बताए । राहतको लागी धरान उपमहानगरपालिका वडा नं. १८, नेपाल पत्रकार महासंघ हङकङ, व्यवसायी सुनिता केसी, धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि., सिल्भर इन्टरटेनमेन्ट, प्रेस संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, रेडियो धरान ८८.८ मेगाहर्ज, युवा नेता द्वय दिपक बनेपाली, दिवस राइ, व्यवसायी सुनिता लिम्बु र अमित श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।

धरान ७ स्थित सन्ध्या इन होटलको सभाहलमा राहत वितरण गरिएको थियो । लकडाउनका कारण राहत लिनका लागि आउन नसकेकाहरुलाई घरमा नै राहत पुर्याइदिने व्यवस्था गरिएको महासंघका सचिव शिसिर राईले जनाए । राहत वितरण कार्यक्रममा प्रेस संगठन केन्द्रीय सदस्य तथा महासंघका सल्लाहकार देवेन्द्र कार्की, सल्लाहकार किशोर थुलुङ्ग, मजदुर नेता रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।