इटहरीः आफ्नै जन्म दिनमा बेलबारीका ५२ बर्षीय दीपक पराजुलीको ज्यान गएको छ । दुबईमा सेक्युरिटी गार्डमा कार्यरत उनको आइतवार बिहान हृदयघातका कारण ज्यान गएको हो । उनि  १० वर्षदेखि यूएईको ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा गार्डका रुपमा कार्यरत थिए ।

उनको आइतबार जन्मदिन थियो । १२ बजे शुभकामना दिने भन्दै शनिबार राति अबेरसम्म श्रीमती तथा परिवारले उनले अनलाइनमा कुरा गरेको पारिवारिक स्रोतले बतायो ।

सामान्य ज्वरो आएका कारण दीपक केही दिनदेखि कोठामै थिए । कोठामै ज्वरोको औषधी खाइरहेका उनि आइतवार एक्कासी ढलेका थिए । उनलाई तत्कालै कोठामै रहेका साथीभाइको सहयोगमा डीआईपीमा रहेको एनएमसी रोयल अस्पताल लगिएको थियो ।

उनको उपचारका कम्पनीले पनि साथ दिएको थियो । तर उनलाई अस्पताल पुर्याएलगत्तै डाक्टरले दीपकको मृत्यु भइसकेको घोषणा गरेका थिए । उनको शव अस्पतालमै राखिएको छ । विश्वभरी कोरोना संक्रमणका कारण उनको शब तत्काल बेलबारी ल्याउन समस्या भएको एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले जानकारी दिएका छन् । उनको मृत्यु खबर र शब नेपाल पठाउने बिषयमा दुबई स्थित नेपाली राजदुतावासमा पनि कुरा राखिएको कोइरालाले बताए ।
१० वर्ष पहिले वैदशिक रोजगारीका लागि यूएई आएका दीपकको श्रीमती र दुई छोरा छन् । छोराहरु पनि वैदेशिक रोजगारीमा रहेको पारिवारिक स्रोतले जनाएको उज्यालो अनलाइनमा खबर छापिएको छ ।