इटहरीः पुरानो बम नचिनेर खेलाउने क्रममा रोल्पाको त्रिवेणी गाउँपालिकामा विस्फोट भई चार जना बालबालिकाको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ गैरीगाउँमा बिहीबार साँझ साढे ६ बजे बम विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरीगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले जानकारी दिए ।
विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ । घटनाका बारेमा बुझ्न प्रहरी चौकी नुवागाउँको टोली त्यहाँ पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी प्रमुखसहितको टोली गइरहेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।