इटहरीः लकडाउनको समयमा घुम्न बोलाएर ९ जना युवाहरुको समूहले मोरङको सुन्दरहरैंचा २ कि १७ बर्षीया किशोरीलाई इटहरी उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमरबना चौंक नजिकको बगैंचामा सामूहिक बलात्कार गरेका छन् । पिडित किशोरीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरिसकेको छ भने फरार ७ जनाको खोजी गरिरहेको छ ।
ती किशोरीलाई सिमरबना घुम्न बोलाएर ९ जना युवाहरुको समूहले वैशाख १४ गते राति सामुहिक बलात्कार गरेको जनाउँदै उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोरङको सुन्दरहरैचा २ बस्ने ती किशोरीलाई सिमरबना चोक नजिक रहेको बगैंचा नजिकको घारीमा लगेर पालैपालो युवाहरुले बलात्कार गरेको किशोरीले दर्ता गराएको उजुरीमा उल्लेख गरिएको छ ।
आफुलाई घुम्न बोलाउने इटहरी ११ सिमरबनाका स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी सहित ९ जनाले आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेकी छन् । आरोपी त्रिलोचन र अमितलाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार अन्य ७ जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान र फरार रहेकाहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।