इटहरीः ९ दिनअघिबाट क्वारेन्टाइनमा बस्दै आएका एक १८ बर्षीय युवकले आत्महत्या गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका १८ बर्षीय सुमन विकले बिहीबार राति क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।
श्रीमतीसहित जनता क्याम्पस रौतामाई–७ राजाबास संचालित क्वारेन्टनाइनमा बस्दै आएका उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन् ।
श्रीमति सहित उनि काठमाडौंबाट वैशाख ११ गते घर फर्किएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले श्रीमती सुतिसकेपछि सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले उनीहरुबीच नियमित झगडा हुँदै आएको जानकारी प्रहरीलाई दिएका छन् । गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेमविवाह गरेर सुमन काठमाडौं गएको र लकडाउनका कारण उनि पुनः घर तर्फ नै फर्किएका थिए । प्रहरीका अनुसार सो क्वारेन्टाइनमा उनि सहित ८ जना बस्दै आएका छन् ।