ताप्लेजुङ: ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ ।
गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको हो। दुईवटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गएराति १० बजेदेखि लागेको आगो आइतबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी केशब खतिवडाले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए अनुसार दुईवटा पक्की घर, आठ वटा कच्ची घर र घुम्ती पसल जलेर नष्ट भएका छन् । यस्तै एउटा पक्की घर आशिंक क्षेति भएको सहायक प्रमुख अधिकारी खतिवडाको भनाई छ ।
आगलागीको कारण भने खुलेको छैन । आगलागी आसपासमा ठुलाठुला होलसेल पसल पनि भएकाले क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय लाप्तेजुङले जनाएको छ ।
ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुँदै आएको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।