धरानः भारतीय बन्दुकधारीले सुनसरीको हरिनगरामा चलाएको गोली लागेर घाइते भएका प्रहरी जवान शिवलाल पौडेलको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको प्रतिष्ठानले जनाएको छ ।

इनरुवा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उपचारको लागि उनलाई प्रतिष्ठान ल्याइएको थियो । प्रतिष्ठानको आकस्मिक कक्षमा उनको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको दाहिने खुट्टा र दाहिने कम्मरमा १/१ गोली लागेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका बन्दुकधारीले आज बिहान हरिनगरास्थित नेपाल भारत सीमा क्षेत्रमा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट स्थानीय रोहियान बोर्डिङका प्रिन्सिपल खुर्शीद आलमको घटनास्थलमै मृत्यु भएको थियो भने प्रहरी जवान पौडेल घाइते भएका थिए ।