झापाः लकडाउनको मौका छोपी कालोबजारी गर्ने दैनिक उपभोग्य वस्तुका ४ पसल संचालक कार्वाहीमा परेका छन् । झापाको जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिको बजार अनुगमन पछि ती पसल संचालकरु कार्वाहीमा परेका हुन् ।
समितिले शुक्रवार गौरादहका ४ वटा पसललाई रु ५० हजार जरिवाना गरेको छ । १६ वटा पसल अनुगमन गरेको समितिले गौरादह –३ को जयदुर्गा सप्लायर्सलाई रु. २० हजार, वडा नम्बर –७ को मातारानी जनरल स्टोर्सलाई रु. १० हजार, वडा नम्बर –१ को साह इन्टरप्राइजेज र खनाल स्टोरलाई रु. १० ÷१० हजार गरी जम्मा ५० हजार जरिवना गरिएको घरेलु उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।
अनाधिकृत रुपमा मूल्य बृद्धि गर्ने, विल विजक जारी नगरेको, कारोवार स्थलमा खाता नराखेको र नापतौलमा समेत उपभोक्तालाई ठगी गरेको आरोपमा ती पसलहरुलाई जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
शुक्रवार विहानै गौरादह नगरपालिकाको वडा नम्बर १, ३ र ७ मा नगरका प्रशासकीय अधिकृत खेम ओझा, उद्योग बाणिज्य संघका पदाधिकारीसहितले समितिलाई अनुगमनमा साथ दिएका थिए ।
चौतर्फी रुपमा उपभोक्तालाई खाद्य तथा तरकारी पसलहरुले चर्को मूल्य असुलेर सामान विक्री गरेको गुनासो आएपछि समितिले ती पसलहरुमा अनुगमन गरी धमाधम जरिवाना गर्दै आएको समितिका संयोजक तथा सहायक प्रजिअ राईले बताए ।
महामारीको मौका छोपेर कालोबजारी गर्ने तथा नापतौलमा ठगी गर्ने पसलहरुलाई न्यूनतम जरिवना गरेको बताउँदै उनले भने, “पटकपटक सचेत गराउँदा समेत नटेर्ने व्यापारीले घटना दोहोर्याए अब पसल नै सिलबन्दी गर्छौं ।”
समितिले दैनिक जसो बजार अनुगमन गरिरहेको छ । यस अघि मात्र भद्रपुर नगरपालिकाभित्र सञ्चालित अत्यावश्यक उपभोग्य वस्तु मूल्य बढाएर विक्री गर्ने छ वटा पसलहरुलाई रु ५० हजार जरिवाना गरिसकेको घरेलु प्रमुख खतिवडाले बताए ।