इटहरीः भारतीय बन्दुकधारीको गोली प्रहारबाट सुनसरीको हरिनगरा–२ मा स्थानीय खुर्शीद आलमको मृत्यु भएपछि हरिनगरावासी आन्दोलित भएका छन् ।

गोली प्रहार भएको घटना तत्काल जानकारी गराउँदा पनि प्रहरी समयमा नआएको भनी स्थानीय आक्रोशित बनेका छन् । प्रहरीकै अगाडिबाट बन्दुकधारी भाग्दा समेत प्रहरीले केही नगरेको स्थानीयको आरोप छ ।

अहिले आलमको शव सडकमा राखेर प्रशासन विरुद्ध स्थानीयले नाराबाजी गरिरहेका छन् । हरिनगराका विभिन्न ठाउँमा टायर बालेर स्थानीय आन्दोलित भएका छन् ।

प्रहरी ढिलो आएको भन्दै स्थानीय आन्दोलित
गोली हानेको आधा घन्टापछि मात्रै घटनास्थलमा प्रहरी आइपुगेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । हत्या गरिएका खुर्शीदका छोरा रासिदले प्रहरी घटनास्थलमा आउन ढिलो गरेको बताए ।

यता, भुटाहा प्रहरी चौकीका असइ श्रवणकुमार चौधरीले भने प्रहरी ढिला पुगेको आरोप अस्वीकार गरेका छन् । उनले भने, ‘सूचना पाउनासाथ हामी पुगेका हौँ । त्यतिबेला बाइकमा आएका अपराधी भागिसेका थिए ।’ स्थानीयले शव उठाउन नदिए पनि शवको मुचुल्का भने उठाइसकेको चौधरीले बताए । उनले भने, ‘मुचुल्का उठ्यो अब लास उठ्छ । स्थानीयले सहयोग गर्नुहुन्छ ।’

42153554_2191521504456064_7634955416962596864_n