इटहरीः संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज ताप्लेजुङ आगलागी पिडितहरुलाई भेट्नुका साथै आगलागी भएको बजार क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।
बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत ताप्लेजुङ पुगेका स्थानीय बासिन्दा समेत रहेका मन्त्री भट्टराईले सुकेटार विमान स्थलको निरिक्षण गरेका थिए । सो बिमान स्थलको निरिक्षणपछि सिधै आगलागी भएको स्थानमा आएर निरिक्षण गरेको ताप्लेजुङबाट हाम्रा सहकर्मी सन्तोष पुर्कुटीले जनाकारी दिएका छन् ।
आगलागी भएको स्थानको निरिक्षणपछि पिडित र जिल्लाका अन्य सरोकारवालाहरुसंग छोटो कुराकानी गरि मन्त्रीले सरकारले विपत्तमा परेका परिवारहरुलाई सक्दो सहयोग गर्ने बताए । उनले आगलागीबाट पिडित बनेकाहरुको तत्कालका लागि बस्ने र खाने व्यवस्थापन के कसरी भएको छ ? सो बारेमा जानकारी लिएका थिए । उनले क्षतिको यकिन विवरण तयार पारि संघीय सरकारलाई पठाउने स्थानीय अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।
उनि आज मन्त्री परिषद् बैंठक भएकाले निरिक्षण र छलफलपछि काठमाण्डौं फर्किसकेका छन् । आगलागीबाट ७ घर , ५ पसलका घुम्ती र बिभिन्न कार्यालय जल्दा ७ करोडबढीको नोक्सान भएको छ । ७ घरका ३२ भन्दाबढी सदस्यहरु विस्थापित हुन परेको छ ।