इटहरीः सुच्चा राई कल्याणकारी समाज केन्द्रिय कार्यालयले लकडाउनको समयमा समस्यामा परेका विपन्न र श्रमिक परिवारलाई राहत उपलब्ध गराउने उद्धेश्यले धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा आइतवार खाद्यान्न जम्ममा गरेको छ ।
उपमहानगरले वडा नम्बर ८ को सभागृहमा स्थापना गरेको फुडबैंकमा समाजले १ हजार केजी चामल र १ सय केजी दाल प्रदान गरेको सुच्चा राई कल्याणकारी समाज केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राईले बताए ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी समाजका तर्फबाट अध्यक्ष बिनोद सुच्चा राई सहित केन्द्रिय उपाध्यक्ष बिनोश राई, चण्डी प्रसाद राई लगायतले संयुक्तरुपमा खाद्यान्न प्रदान गरेका थिए ।
समाजका पदाधिकारीहरु सहित सुच्चा राई दाजुभाईहरुबाट संकलन भएको रकमबाट पहिलो चरणमा धरानउपमहानगरपालिकालाई ५५ हजार रुपैया बराबरको खाद्यान्न प्रदान गरिएको सुच्चा राई कल्याणकारी समाज केन्द्रिय उपाध्यक्ष बिनोश सुच्चा राईले बताए ।
उनका अनुसार समाजले १ लाख रुपैया भन्दा बढी आर्थिक संकलन गरेको छ । उनले भने, ‘पहिलो चरणमा धरान उपमहानगरपालिकालाई प्रदान गरिएको छ । दोस्रो चरणमा जिल्लाका विभिन्न स्थानीय निकायहरुमा राहत स्वरुप खाद्यान्न प्रदान गर्ने समाजको योजना छ ।’
खाद्यान्न वितरण कार्यक्रममा जिल्ला अध्यक्ष कुमार सुच्चा राई, केन्द्रिय कोषाध्यक्ष निर्मला सुच्चा राई, जिल्ला कोषाध्यक्ष संगिता सुच्चा राई, केन्द्रिय सदस्य पुर्ण सुच्चा राई, पुर्व केन्द्रिय अध्यक्ष ओम सुच्चा राई, केन्द्रिय सदस्य प्रेम सुच्चा राई, जिल्ला सदस्य सौराज सुच्चा राई लगायतको सहभागीता रहेको थियो ।