इटहरीः आज बसेको मन्त्रिपरिषद बैंठकले थप १० दिन अर्थात जेष्ठ ५ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ ।
सरकारले यसअघि भोलि अर्थात वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ। गृहमन्त्रीले प्रस्ताव गरेको जोन क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिर्वतन गर्ने प्रस्ताव पेश गरेपनि प्रधानमन्त्रीले अस्वीकार गरेका कारण बैंठकमा समान्य छलफल मात्र भएको बालुवाटार श्रोतले बतायो । प्रम ओलीले छिमेकी मुलुक भारतमा प्रतिदिन कोरोना संक्रमण बढ्नुका साथै मृत्यु हुने नागरिकको संख्यापनि बढीरहेकाले तत्काल नेपालमा लकडाउन खुकुलो बनाउन नहुने बताउँदै गृहमन्त्रीको प्रस्ताव अस्वीकार गरेका थिए ।
हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको थियो। सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर छ। विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखिएको छ। हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन्। निको भएर घर फर्किएका मध्ये ४ जना पुनः कोरोना संक्रमण लक्ष्यण देखिएर अस्पताल भर्ना भएका छन् ।