बेलबारी: ३८ वर्ष लामो समय निजामती सेवामा जागिर खाइसकेका व्यक्तिलाई परिपक्व मान्ने कि नमान्ने ? ३८ वर्षे लामो जागीरे अनुभव भएकालाई परिपक्व नमान्ने कुरै हुँदैन । तर, आफूभन्दा तल्लो तहका कर्मचारीलाई अनुभव बाँड्नुपर्ने व्यक्तिले तल्लो तहका कर्मचारी कुट्नु लज्जाको विषय हो ।
तर, मोरङका एक कर्मचारीले बिहीबार इलाका प्रहरी कार्यालयमा लज्जास्पद अनुभव सुनाएका छन् । बेलबारी नगरपालिका वडा नम्बर ७ का वडा सचिव कुट्ने लेखा अधिकृतले लामो समयसम्म जागीर खाए पनि जुनसुकै वडाको काम एउटै सचिवले गर्न सक्ने भनाइ राखेका छन् ।
सुरक्षाको घेराभित्रै वडा सचिव उमेश खनाललाई कुट्ने शहरी विकास कार्यालय विराटनगरका लेखा अधिकृत मदनबहादुर कार्कीले पीडकसँग माफी माग्दै भनेका छन्, ‘मैले ३८ वर्षसम्म जागिर खाँदा यस्तो भएको थिएन । यस पटक यस्तो भयो माफी मागिदिन्छु न त ।’
छोराको जन्मदर्ताको प्रतिलिपि लिन वडा कार्यालमा आएका लेखा अधिकृत मदनबहादुर कार्कीले वडा सचिवलाई हातपात गरेका थिए ।
पीडकले माफी माग्दा समेत ‘मागिदिन्छु न त’ भनेपछि केही वडा सचिवले तपाईंले निजामती सेवाको बेइज्जत गर्नुभयो भन्दै कार्कीको प्रतिकार गरेका थिए । एउटै सचिवबाट काम हुने भए तपाईं पनि नगरपालिकाको चेक काटिदिनुहोस् भन्दै वडा सचिवले कार्कीलाई भनेपछि मिल्ने साथी भए जुनसुकै कार्यालयको चेक दिन सक्ने कार्कीले बताएका थिए ।
एक जिम्मेवार निजामती कर्मचारीले अर्का कर्मचारीलाई कुट्दै लज्जास्पद तथा गैर जिम्मेवारपूर्ण जवाफ दिनुले तल्ला तहका कर्मचारीले माथिल्ला तहका कर्मचारीबाट के आश गर्ने भनी कर्मचारी वृत्तमा छलफल हुन थालेको एक वडा सचिवले बताए ।