इटहरीः करिब डेढ महिना देश लकडाउनको अबस्थामा छ । १ सय जनाको हाराहारीमा नेपालमा पनि कोरोना भाईरसबाट संक्रमित भइसकेका छन् । आजसम्म २२ जना निको भई घर पनि फर्केका छन् भने निको भएका ब्यक्ति पनि फेरी उपचारका लागि अस्पताल भर्ना भएका छन् । यस्तो जटिल अबस्थामा निजि सरकारी कुनै पनि कलकारखाना चलेका छैनन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको ज्याला खोसिए सरह भएको छ । बिहान खाए, बेलुका के खाउँ ? भन्ने चिन्ताले मजदुरी गर्नेहरु ग्रसित छन् ।
उनिहरु सरकारसरले केही राहत दिन्छ अनि खाउँला भनि दिन रात राहत आउने बाटो कुरेर बसेका छन् । धेरै स्थानीय तहका सरकारले पहिलो चरणको राहत वापत खाद्यसामग्री श्रमिक बर्ग, विपन्न परिवारलाई वितरण गरिसकेका छन् । तर, धान धेरै उत्पादन हुने जिल्लाका रुपमा रहेको सुनसरीको एक नगरपालिकामा भने श्रमिक, विपन्न वर्गका परिवारका सदस्यहरुले दलहरुको आरोप पत्यारोपका कारण राहत वापत खाद्यसामाग्री नै नपाइरहेको खुल्न आएको छ । सुनसरीको रामधुनी नगरपालिका भित्र पहिलो चरणको राहत सामग्री बितरण गरेको एक महिना भईसक्यो । दोश्रो चरणको राहत बितरण गर्ने कार्य अहिलेसम्म पनि नहुँदा नगरवासीहरु भोक भोकै मर्नु पर्ने अवस्था मै पुग्न लागेका छन् । रामधुनी नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि खरिद गरेको खाद्यन्नको मूल्यबढी भएपछि राजनितिकदलहरु बीच आरोप प्रत्यारोप भएकाले अहिलेसम्म नगरवासीले दोस्रो चरणको राहत नपाएका हुन् ।
कसरी बिबाद आयो ?
दोश्रो चरणको लागि नगरपालिकाले गत बैशाख ७ गते लिखित दरभाउ सम्बन्धी एक हप्ताका लागि बोलपत्र आव्हान गर्याे । ७ गते गरिएको बोलपत्र अन्तिम दिन १३ गते थियो तर त्यसदिन शनिबार परेकाले नगरपालिकाले आफ्नो वेभसाइटमा थप एक दिन बोलपत्रका लागि १४ गते पनि खुल्ला गर्यो । त्यस मितिसम्म रामधुनी भित्रका ९ वटा चामल मिल मध्ये ४ वटाले मात्रै लिखित दरभाउ सहित नगरपालिकामा पेस गरे । बोलपत्रमा एक लाख केजी मन्सुली चामल गे्रडिङ सहित र आयोडिन युक्त नुन ६ हजार के.जी माग गरिएको थियो । चार वटा चामल मिल मध्ये सबै भन्दा सस्तो दरमा बोलपत्रमा भनिए बमोजिमको चामल उपलब्ध गराउने भनि एक चामल कम्पनीले जिम्मा पायो । त्यस मिलले २४ हजार केजी चामल नगरपालिकालाई दियो । दिए लगतै वडा नम्बर ५मा बितरण समेत गरिएको थियो । तर केही समयमा चामल गुणस्तरहीन साथै बढी मुल्यमा खरिद गरिएको भन्दै नेपाली काङ्ग्रेस रामधुनी नगर कमिटिले पालिकामा बिना प्रमाण लिखित उजुरी दिएपछि गत बैशाख २० गतेबाट राहत बितरण नगरिएको नगरपालिकाका मेयर जय प्रकाश चौधरीले जानकारी दिए । मेयर चौधरी नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।

94229405_2953138311476092_5033909457134813184_n
नेपाली काङ्ग्रेस नगर समितिले उक्त चामल खरिदमा मुल्यदेखि गुणस्तरसम्म प्रश्न उठेकाले स्वतन्त्र छानबिनको माग गरेको छ । नगरसमिति अध्यक्ष सुदिप अधिकारीले सर्वदलिय संयन्त्रमार्फत अनुगमनको काम गरिरहनु पर्ने, राहत बितरण प्रक्रिया भोलिबाटै सुचारु गर्न नगरपालिकालाई आग्रह गरिएको बताए । यस्तै राहतको विषयमा बिभिन्न खालका टिकाटिप्पणी भईरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगरकमिटिले कसैले बिना प्रमाण राहत सामग्री बितरण नगर्नु स्थानीय सरकारले कमजोरी रहेको बताउँदै यथाशिघ्र राहत बितरण गर्न पालिकासगँ आग्रह गरेको छ । नेकपा रामधुनीको बुधबार बसेको बैठकले राहत बितरण रोक्न नहुने, सबै वडामा राहत बितरण कार्यमा एकरुपता हनुपर्ने, अति विपन्न र श्रमजिवी गरीब जनताको पक्षमा राहत बितरण गरिनु पर्ने, राहत वितरणका क्रममा जनप्रतिनिधिबाट भएका कमिकमजोरीको समिक्षा हुनु पर्ने लगायतको माग राख्ने निर्णय भएको नेकपा नगरकमिटि अध्यक्ष राम कोइरालाले जानकारी दिए ।
यस बिषयमा नगरपालिका प्रमुख जय प्रकाश चौधरी सगँ बुझ्दा खरिद प्रक्रियामा केही तलमाथि नभएको तथा चामल पनि गुणस्तर भएको बताउँछन् । छिमेकी पालिकामा बुझ्दा नगरपालिकाले खरिद गरेको रकम भन्दा एक दुई रुपैयाँ तलमाथि छ । यसमा आपत्ति मान्नु पर्ने अबस्था नरहेको बताए । केही पार्टीबाट उक्त चामल गुणस्तरहिन र मुल्य बढी भएको भनि लिखित उजुरी आएकाले तत्काललाई राहत बितरण रोकेको मेयर चौधरीले बताए । राहत वापतको चामल खरिदमा प्रश्न उठेकाले सुक्रबार सर्वपक्षिय बैठ्क आह्रवान गरेको मेयर चौधरीले बताए । उनका अनुसार सुक्रबारको बैठकबाट एक सर्वपक्षिय अनुगमन समिति निर्माण गरि खरिद प्रकृयादेखि, त्यसको मूल्य र गुणस्तरका बिषयमा छानविन गरिने बताए । छानविनपछि आएको प्रतिवेदनका आधारमा दोस्रो चरणको राहत सामाग्री वितरण हुने नहुने निधो लाग्ने मेयर चौधरीको भनाई छ ।