इटहरीः नायक तथा निर्देशक नवल खड्का राष्ट्रवादी फिल्म बनाउन सक्रिय छन । उनले बनाएका दशगजा र भीमदत्त चलचित्रले नेपाली स्वाभिमानको वकालत गर्छ । राष्ट्रवादी धारका चलचित्र बनाउँदा भारतीय दादागिरी निकै मिहिन ढङ्गले देखेको नवलले बताउँदै आएका छन् । कतिसम्म भने उनले बनाएका चलचित्र रोक्नेसम्मका पहल भारतीय जासुसले गरेको उनी सार्वजनिक मञ्चमै भन्छन् ।
पछिल्लो समयमा खड्का नेपाली सिमानामा व्यवस्थित काँडेतार लाउनुपर्छ भन्छन् । नेपालको अन्तर्राष्ट्रिय सिमानामा काँडेतार अभियानमा उनी जोडिएका छन् । अभियानमा जोडिएका मात्रै छैनन् त्यही अभियानलाई चलचित्रमा उतार्दै छन् । चाँडै बन्ने क्रममा रहेको चलचित्र ‘काँडेतार’को लोकेसन सन्टमा छन् खड्का । उनी बिहीबार दक्षिणी सुनसरीको भुटाहा क्षेत्रमा काँडेतार फिल्मको सुटिङ लोकेसन हन्ट गर्दैथिए ।
आफ्ना सहयोगीहरू पर्शुराम चौधरी र पर्शुराम यादव लगायतसँग हिँडेका खड्का भुटाहा पुगेका मात्रै थिए । उनका साथी सुपारी किन्न ओर्लेका थिए । ठीक त्यही बेला भुटाहा बजार क्षेत्रमै रहेको रैय्यान स्कुल नजिकै गोली चल्यो । गोली भारतीय नम्बर प्लेटमा आएका बन्दुकधारीले चलाए ।
गोली चलाउनासाथ खड्काले देखिहाले । ‘गोली लागेको मान्छे ढलेको ठाउँ हामीभन्दा १० मिटर मात्रै पर थियो’, बिहीबार हरिनगराको भुटाहाका नेपाली मौलाहा खुर्सीद अन्सारीको हत्या देखेका खड्का भन्छन्, ‘तीन राउन्ड गोली चल्यो । गोलीले ढलेका अन्सारी ठाउँको ठाउँ मरे ।’
गोली चलेको क्षेत्रको पहिलो सूचना सुनसरी जिल्ला प्रशासनमा पु¥याउने खड्का नै भए । खड्काले नै सामाजिक सञ्जालमा त्यो क्षेत्रको भिडियो पहिलोपटक सार्वजनिक गरे । र, खुला सिमानाबाट आएका भारतीयले नेपाली मारेको वीभत्स कथा सेयर गरे ।
‘सिमानामा काँडेतार लाएर नेपाली माटो र मान्छेहरूको सुरक्षा हुनुपर्छ भन्ने फिल्मको लोकेसन हेर्न आएकै दिन एक जना नेपाली खुला सीमाबाट आएका भारतीयबाट मारिए’, खड्काले मोबाइलमा कुराकानी गर्दै भने, ‘यो दुःखद संयोग हो ।’ आफूले उठाएको मुद्दा भुटाहा घटनाले थप प्रमाणित गरेको खड्काको तर्क छ । उनी भन्छन्, ‘आज इजराइल–जोर्डनदेखि उत्तर कोरिया– दक्षिण कोरियाले राम्रो काँडेतारले सीमा रक्षा गरेका छन् । हामीले पनि त्यसै गर्नुपर्छ ।’
सिमानामा काँडेतार लगाए मात्रै नेपाली मान्छे र माटोमा भारतीय भूमिबाट नाङ्गो हस्तक्षेप नहुने खड्का बताउँछन् । उनी भन्छन्, ‘सिमानामा काँडेतार लगाए भारतीय भूमिबाट नेपालमा हुने धेरै अपराधहरू अन्त्य हुन्छन् ।’ भारतले सिमानामा बाक्लो गरी सशस्त्र सीमा बल राखेकाले भारतलाई भन्दा नेपाललाई काँडेतार आवश्यक रहेको खड्काको तर्क छ ।