विराटनगर: सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
भारतले नेपाली भु–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचेर सडक उद्धाटन गरेको विरोधमा अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले विराटनगरको रोडशेष चोकमा मोदीको पुत्ला जलाएका हुन् ।
अनेरास्ववियूका नेता वसिम आलमको नेतृत्वमा रहेका विद्यार्थीहरुले पुत्ला दहन गरेका थिए । उनीहरुले नेपाली भुमी फिर्ता गर, लिपुलेक कालापानी र लिम्पियाधुरा हाम्रो हो, बैमान छिमेकी चाहिँदैन र भारतीय दादागिरी मुर्दावाद लगायतका नारा लगाउँदै पुत्ला दहन गरेका थिए ।
पुत्ला दहनको क्रममा पुगेका प्रहरीले भने विद्यार्थीहरुद्धारा जलाउँदै गरेको मोदीको पुत्ला खोस्ने प्रयास गरेको थियो ।