इटहरीः सुनसरीको हरिनगरामा हिजो हत्या गरिएका खुर्शीद आलम अन्सारीको शव आज दिउँसो २ बजेसम्म हरिनगरामा नै राखिने भएको छ ।
सरकारले घटनाको बारेमा गहन अध्ययन नगरेको र यसलाई गम्भीर रूपले नलिएकाले सरकारलाई दबाब दिने उद्देश्यले आज ११ बजे इनरुवामा प्रदर्शन गर्ने तयारी हरिनगरावासीले गरेका थिए । तर, स्थानीयको मागको सम्बोधन हुने भएपछि २ बजेसम्मको लागि आन्दोलन स्थगित गरिएको स्थानीयवासी पूर्व महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री जाकिर हुसेनले बताए ।
‘स्थिति तनावपूर्ण हुन खोज्दैछ । हामी संयमित बनाउने प्रयास गर्दैछौं’, उनले भने, ‘सरकारले आजै स्थानीयको माग सम्बोधन गर्ने जानकारी दिएकाले २ बजेसम्मको लागि आन्दोलन रोकिएको हो ।’ स्थानीय बुद्धिजीवी, मौलानालगायतको बैठक बसी तत्काललाई आन्दोलनका कार्यक्रम रोक्ने निर्णय भएको उनले बताए ।
‘हरिनगराका साथै भोक्राहालगायतका केही स्थानमा स्वतःस्फूर्त रूपमा युवाहरूले आन्दोलन गर्न थालिसकेका रहेछन्,’ उनले भने, ‘हामी त्यसलाई पनि रोक्दैछौं । आज हाम्रो जुम्माको दिन पनि हो । दिउँसो नमाज पढिसकेपछि आन्दोलनको नयाँ स्वरूप बाहिर आउँछ । २ बजेसम्मका लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ । २ बजेसम्म पनि माग पूरा भएन भने फेरि बैठक बसेर संयमित ढङ्गले आन्दोलन अघि बढाउँछौं ।’

1 10

के के छन् स्थानीयका माग
सरकारसमक्ष आन्दोलनकारीले मुख्य गरी ४ वटा माग गरेका छन् । हुसेनका अनुसार मुख्य माग यसप्रकार रहेका छन् ः
१. हत्या गरिएका आलमलाई शहीद घोषणा गरिनुपर्ने,
२. मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने,
३. मुस्लिम समुदायका व्यक्तिमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका आक्रमणलाई दृष्टिगत गरी मुस्लिम समुदायको सुरक्षाको लागि सरकारले उच्चस्तरीय संयन्त्र बनाएर आवश्यक नीति बनाउनुपर्ने,
४. उच्च स्तरीय छानबिन आयोग गठन गरेर घटनाका दोषी पत्ता लगाउनुपर्ने ।

यस्तो थियो बिहानको तयारी
सरकारले माग सम्बोधन नगरेको भन्दै शुक्रबार बिहान साढे ११ बजे हजारौंको सङ्ख्यामा मुस्लिम समुदायका मानिस र हरिनगरावासी जिल्ला सदरमुकाम इनरुवामा आउने भएका थिए ।
घटनाको विषयलाई लिएर सरकार गम्भीर नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिने उद्देश्यले इनरुवा आउन लागेका थिए । हरिनगराबाट आलमको शव ल्याएर उनीहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्ने तयारी गरेका थिए ।

harinagara kanda (3) harinagara kanda (1)

11 2