इटहरीः भारतबाट आएका सुटरद्वारा हिजो हत्या गरिएका खुर्शीद आलमको हत्याको विषयमा गृहमन्त्री रामबहादुर थापा बादल छलफल गर्न तयार भएका छन् ।

गृहमन्त्री थापालाई उद्धृत गर्दै आज सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले प्रदेश पोर्टललाई जानकारी दिँदै गृहमन्त्री छलफलको लागि तयार रहेको बताएका हुन् ।

‘गृहमन्त्रीज्यूले खुर्सीद हत्याको विषयलाई विशेष रूपले हेर्नुभएको छ’, उप्रेती भन्छन्, ‘मन्त्रीज्यूको आदेशअनुसार खुर्सीदको पक्षबाट ५ सदस्यीय वार्ता टोली बनाउन आग्रह पनि गरिसकिएको छ । मन्त्रीज्यू चाहिँ कार्यव्यस्तताले गर्दा घटनास्थलमा आउन सक्नुभएन ।

खुर्सीदको हत्या भएपछि मुस्लिम समुदायका नेता तथा धर्मगुरुले काठमाडौंमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका थिए । मौलानाहरूले गृह मन्त्रीलाई भेटेर घटनाको बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी हत्यारालाई कानुनी कारवाही गर्न माग गरेका थिए । यता भुटाहामा पनि गृहमन्त्रीसँग छलफल नभई शव उठ्न नदिने भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

मौलानाहरूले पनि गृहमन्त्रीसँग भेटको क्रममा गृहमन्त्री स्वयं घटनास्थल आएर मृतकका परिवार र स्थानीयलाई आश्वस्त नपारेसम्म शव पोष्टमार्टममा जान नदिने र शवसमेत नबुझ्ने अडान राखेका थिए । थापाले शान्ति सुरक्षा कायम गरी हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताएका छन् ।