इटहरीः सुनसरीको हरिनगरामा हिजो हत्या गरिएका खुर्शीद आलमको हत्याको छानबिनको लागी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली काठमाडौँबाट सुनसरी आएको छ ।

मुस्लिम धर्मगुरुहरूले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेपछि ३ सदस्यीय सिबिआई टोली सुनसरी आएको हो ।

त्यसैगरी, प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी किशोर दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एसएसपी दाहालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिको सदस्यमा सशस्त्र प्रहरी बलका उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाईं, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे रहेका छन् । गृहमन्त्री थापाले विशेष रूपमा हेरेको यो विषयमा २ वटा समिति बनाई अनुसन्धान हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

खुर्शीदको हत्या भएपछि मुस्लिम समुदायका नेता तथा धर्मगुरुले काठमाडौँमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका थिए । मौलानाहरूले गृह मन्त्रीलाई भेटेर घटनाको बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी हत्यारालाई कानुनी कारबाही गर्न माग गरेका थिए । यता भुटाहामा पनि गृहमन्त्रीसँग छलफल नभई शव उठ्न नदिने भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

घटनापछि भुटाहा प्रहरी र सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको सबै प्रहरी नेतृत्व परिवर्तन समेत गरिएको छ । अहिले घटनास्थलको अनुसन्धान भइरहेको र सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ उप्रेतीले जानकारी गराए ।