धरानः अति विपन्न परिवारलाई लकडाउनमा वितरण गरिदै आएको राहत खरिद वापतको रकम भुक्तानी गर्न अपुग भएको जनाउँदै धरान सरकारले थप सहयोग गर्न दाताहरुमा अपिल गरेको छ ।
धरान उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलन नै गरि तेस्रो चरणको राहत वितरणको तयारी गरिरहँदा रकम अपुग भएकाले सहयोगका लागि धरानवासी दाताहरुलाई आग्रह गरेको हो ।
धरान उपमहानगरपालिकाले दुई चरणमा राहत वितरण गरिसकेको छ भने तेस्रो चरणको राहत वितरणको तयारीमा रहेको छ । दोस्रो चरणमा वितरण गरिएको राहत सामग्री खरिदको रकम भुक्तानी गर्न अझै सकेको छैन् भने तेस्रो चरणको राहतका लागि पनि रकम अपुग रहेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाको अनुसार दोस्रो चरण सम्मको राहतको भुक्तानीका लागि ६४ लाख १६ हजार ३ सय ८१ रुपैया अपुग रहेको छ भने तेस्रो चरणको राहत समेतका लागि १ करोड ७७ लाख ५० हजार ३ सय ८१ रुपैया आवश्यक रहेको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरेको खर्च विवरणमा पहिलो चरणमा ९ हजार ३६ लाई राहत वितरण गर्दा ८२ लाख ७ हजार ८ सय ५५ रुपैया खर्च भएको छ भने दोस्रो चरणमा २० हजार ६ सय १२ लाई राहत वितरण गर्दा १ करोड २४ लाख ७१ हजार ३ सय रुपैया खर्च भएको छ । तेस्रो चरणका लागि राहत खरिदका लागि १ करोड १३ लाख ३४ हजार अनुमान गरिएको छ।
धरान उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा १ करोड ४२ लाख ६२ हजार ७ सय ७४ रुपैया प्राप्त भएको जनाएको छ ।
धरानमा पहिलो चरणमा ९३ हजार २ सय ४० किलो चामल, दाल ६ हजार २ सय २५ किलो, नुन ९ हजार ३६ किलो, तेल ९ हजार ३६ लिटर, आलु ३५ हजार ७ सय ४४ किलो साबुन ६३ दशमलव ६६ कार्टुन र न्युटेला २८ सय ११ किलो वितरण गरिएको मेयर तिलक राईले बताए ।
दोस्रो चरणको राहतमा चामल २ लाख ६ हजार १ सय २० किलो, दाल ५ हजार ४ सय ६५ किलो, नुन २० हजार २९ किलो वितरण भएको थियो भने तेल २० हजार २९ लिटर र न्युटेला ७ हजार ५ सय ७४ किलो वितरण भएको बताइएको छ ।
तेस्रो चरणमा पनि २० हजार ६ सय १२ परिवारलाई १ करोड १३ लाख ३४ हजार रुपैयाँ बराबरको राहत वितरण गरिने उपमहानगरले जनाएको छ । पत्रकार सम्मेलनमा धरानमा राहत वितरणका लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा सहयोग गर्न पनि अपिल गरिएको छ ।