संखुवासभाः लकडाउनको मार खेपिरहेका संखुवासभाका किसानलाई फौजी किराको अर्को मार थपिएको छ । यतिबेला यहाँका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप थामिनसक्नु भएको छ । सो किराको प्रकोपका कारण किसानले लगाएको मकै बारी पुरै नष्ट हुन थालेको छ ।
जिल्लाका ९ वटा स्थानिय तहको करिब ३५ हेक्टर क्षेत्रफलमा फौजि किराले मकै बालि नष्ट गरेको पिडित किसानहरुले बताएका छन् । मकैमा फौजि किराको प्रकोप देखिन थालेपछि किसान चिन्तीत बनेका छन् । चैनपुर नगरपालिकाका किसान प्रेम बहादुर राईले फौजि किराले मकैका पात खाएर सखाप पार्न लागेको बताए । त्यस्तै अर्का किसान बंशिकुमार दाहालले फौजि किराको प्रकोप यसै गरि भएमा यसपालि मकै बालि भित्र्याउन नपाईने बताए । उनका अनुसार मकैका पात किराले नष्ट पारेकाले पशुपालनमा समेत यसको असर परेकोमा किसानहरु थप चिन्तामा परेका छन् ।
किसानले मकै गोड्ने बेलामा बारीबाट मकैको घास निकाल्नुका साथै पछि फलेपछि मकैको दाना बनाएर आफ्ना गाईबस्तुलाई खुवाउने गरेका थिए । फौजि किराको प्रकोप देखिए पछि कृषि प्राविधिकहरुले किसानलाई यसको नियन्त्रण सम्बन्धमा परामर्श दिएर प्रकोप नियन्त्रण गर्नका लागि सचेतना कार्यक्रम गरेको कृषि ज्ञान केन्दका प्रास बाली संरक्षण सरोज राईले बताए ।
उनका अनुसार इमामेक्टिन बेन्जोड नामक विषादी प्रति ग्राम २ लिटर पानीमा घोलेर प्रयोग गर्न सकिन्छ । यो विषादी प्रयोग गर्दा विशेष सुरक्षा सावधानी अपनाएर मात्र प्रयोग गर्नुपर्छ । विषादी प्रयोग गरेपछि १४ दिन सम्म त्यहाँ भएको तरकारी तथा घाँस प्रयोग गर्न नहुने पनि राईले बताए ।
किसानले अन्नबाली लगाउनुभन्दा अगाडी नै खेतबारी गहिरो जोत्ने, बीउको उपचार गरेर मात्र रोप्ने गर्नुपर्ने राईले बताए । यो किरा एक सय किलो मिटरसम्म सजिलै पुग्न सक्ने भएकाले चाँडै धेरै ठाँउमा फैलन सक्नेप्रति सजग हुनुपर्ने राईको भनाई छ । यो किराको प्रकोप संखुवासभामा गत बर्ष देखि नै देखिन थालेको थियो ।