सङ्खुवासभाः पत्रकारलाई धम्की दिनेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सङ्खुवासभासहित तीन वटा सञ्चार सङ्गठनले माग गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकार महासङ्घ सङ्खुवासभा, आदिवासी जनजाति पत्रकार महासङ्घ सङ्खुवासभा र रिपोर्टर्स क्लब सङ्खुवासभाले धम्की दिनेलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन माग गरेका हुन् ।
गत शनिबार एभिन्युज टेलिभिजन र पूर्वेली न्युज अनलाइनका जिल्ला संवाददाता मेघराज तामाङले पाँचखपन नगरपालिका–७ मा रहेको निमनगडी साना किसान कृषि सहकारीको कार्यालयमा लगाइएको ताला २७ घण्टापछि खुल्यो भन्ने समाचार प्रकाशन तथा प्रशारण गराएका थिए ।
सोही विषयलाई लिएर पाँचखपन ७ का राजेश खड्काले आइन्दा सहकारीको समाचार लेखेमा जे पनि गर्न सक्ने भनी अपशब्द प्रयोग गरी धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।
यस्तो किसिमको अभिव्यक्ति र धम्कीले आमनागरिकलाई सुसूचित गराउने तथा सुसूचित हुन पाउने अधिकारलाई कुण्ठित बनाएको र सिङ्गो पत्रकारिता पेशालाई आघात पु¥याएकाले कारबाही गर्न ती सङ्गठनले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।
सो विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकारलाई अपशब्द बोल्नेमाथि पनि कारबाही गर्न ती सङ्गठनले माग गरेका छन् । ‘मिथुन भोटे संखुवासभाको छोरो नामक फेसबुक आइडीबाट पत्रकारको प्रतिष्ठामाथि आँच आउने गरी अपशव्द प्रयोग गरेकाले निजलाई समेत कारवाहीको दायरामा ल्याउन माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।