विराटनगर /  बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेर सहकारीका सञ्चालक फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिन थालेका छन् ।
विराटनगर–९ बाटा रोडमा सञ्चालित प्राइम बचत तथा ऋण सहकारी संस्थाले रकम अपचलन गरेको पीडितको जाहेरीका आधारमा व्यवस्थापक इन्द्रलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
श्रेष्ठलाई पक्राउ गरे पनि अन्य सञ्चालक भने फरार भएपछि पीडित ६४ जनाले आफ्नो रकमको बिगो मागदाबीसहित प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले व्यवस्थापक श्रेष्ठलाई गत जेठ १७ गते नै नियन्त्रणमा लिएर ठगीविरुद्ध अनुसन्धान गरिरहेको छ ।

६४ जनाको जाहेरी, ७० लाख बिगो
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार हालसम्म ६४ जनाको जाहेरीमा ७० लाखको बिगो माग दाबी गरिएको छ ।
प्रहरीमा जाहेरी दिने पीडितहरूमा विराटनगर–९ की देवीमाया अधिकारीले १ लाख ८८ हजार बिगो माग दाबी गरेकी छिन् । यसैगरी रेनुका रेग्मीले ४ लाख, रानीकुमारी रौनियारले ७ लाख, विनय चौधरीले ४ लाख ६४ हजार, सुनिल सिंहले २ लाख, भगतराम जिन्दलले १ लाख ५ हजार, प्रमिला तामाङ मुल्मीले १ लाख ३७ हजार, काजलकुमार दत्तले २ लाख ३४ हजार दाबी गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिएका छन् ।
प्रहरीले सहकारीका व्यवस्थापक श्रेष्ठलाई नियन्त्रणमा लिएसँगै उजुरी दिनेहरूले आफूले जम्मा गरेको रकमको प्रमाणसहित उजुरी दिएको थापाले बताए । सहकारीमा जम्मा भएको सबैभन्दा बढी १० लाख ११ हजार रकम रन्जनादेवी सरदारको देखिएको छ । त्यसबाहेक रन्जिता जैसवालको २ लाख १९ हजार, कृष्णप्रसाद सुवेदीको ५४ हजार र तारादेवी सुवेदीको ५३ हजार रुपैयाँको माग दाबी छ । यसैगरी, मोहनकुमार अग्रवालले आफ्नो ३ लाख १ हजार रुपैयाँ जम्मा रहेको मागदाबीसहित उजुरी दिएका छन् ।
लामो समयसम्म आफूहरूले बचत गरेको रकम दिन नमानेको भन्दै पीडितले सहकारी डिभिजन कार्यालयमा समेत उजुरी दिएका थिए । डिभिजन सहकारी मोरङका प्रमुख रामप्रसाद चापागाईंले पीडित र पीडक दुवै पक्षलाई राखेर भुक्तानी दिने सम्झौता गराएका थिए । तर, तोकिएको मितिसम्ममा भुक्तानी नगरी कतिपय सञ्चालक नै भागेपछि व्यवस्थापक श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएको हो ।
७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूँजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड रहेको डिभिजन सहकारीमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीको नियन्त्रणमा परेका व्यवस्थापक श्रेष्ठसहित सञ्चालन समितिका ९ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार अन्य सञ्चालक फरार रहेका कारण खोजी भइरहेको छ । सो सहकारीका धेरै शेयर सदस्य भएका हुनाले उजुरी दिनेको सङ्ख्या पनि बढिरहेको प्रहरीले जनाएको छ ।