विराटनगर / विराटनगरमा लामो समयदेखि अवैध हुण्डीको व्यवसाय गर्नेहरू कारोबार बन्द गरेर भागेका छन् । सुनको अवैध कारोबारमा रकम पठाउने देशैभरका हुण्डी कारोबारीलाई प्रहरीले निगरानी गर्न र नियन्त्रणमा लिन थालेपछि विराटनगरका चर्चित हुण्डीवालाहरू भागेका छन् ।
झापाको दमकमा मनि ट्रान्सफर सञ्चालन गर्दै आएका विनोद अधिकारी, दोलखामा मोतीराज श्रेष्ठ, काठमाडौंमा मदन सिलवाल र लक्षबहादुर गुरुङमाथि अवैध सुन आयातमा हुण्डीमार्फत् रकम पठाउने कारोबारमा संलग्न आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
मोरङ प्रहरीले साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्यापछिका प्रतिवादी चुणामणि उप्रेतीसहितले सञ्चालन गरेको संगठित अपराधमा सदस्य भएको आरोपमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
सुनको अवैध आयातमा हुण्डीको ‘कनेक्सन’ देखिएसँगै कारोबारी पक्राउ पर्न थालेपछि विराटनगरमा लामो समयसम्म हुण्डी कारोबार गर्दै आएका व्यक्ति भारत पसेका हुन् ।
विराटनगरमा आफ्नै मुख्य व्यवसायिक केन्द्रलाई आधार बनाएर अवैध हुण्डीसमेत चलाउँदै आएका कतिपयले हुण्डी कारोबार बन्द गरेका छन् भने त्यही कारोबार मात्रै गर्दै आएका व्यक्तिहरू भने भारत पसेको जानकारहरू बताउँछन् ।
विराटनगरमा समेत अवैध आयात हुने सुनको खरिद बिक्री हुने गरेको कतिपय प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष दिएको बयानमा उल्लेख गरेका छन् । त्यसपछि हुण्डीकै कारोबार गर्ने व्यक्तिहरू भने भागेका हुन् ।
विराटनगरमा अवैध सट्टेबाज, फाट्का र जुवाजन्य खेलदेखि चिठ्ठाको नाममा ठगी गर्नेको समूह भने ठूलै रहेको प्रहरी अधिकारीको भनाइ छ । कानुनी रूपमा स्रोत नखुलाइकन रकम स्थानान्तरण गर्ने प्रक्रियाले अधिक आर्जन गर्दै आएका कारोबारीमा ठूला घरानाका उद्योगी, सुन कारोबारी, भन्सार एजेन्टसम्म रहेको सूची प्रहरीसँग छ ।
विराटनगरमा हुण्डी चलाउने गिरोहमध्येका अनुपचन्द सेठिया, ललित सेठिया, बिमल चिरानिया यस अगाडि नै पक्राउ परिसकेका छन् । चिठ्ठाको नाममा ठगी गरेका उनीहरूमध्ये चिरानियाले १५ लाख धरौटी बुझाएर छुटेका छन् । तर, सेठिया मार्केटका सञ्चालक समेत रहेका सेठिया काका–भतिज अनुप र ललित अहिले पनि पुर्पक्षका लागि मोरङ कारागारको थुनामा छन् ।
त्यसपछि मथ्थर जस्तै भएको हुण्डी कारोबार पछि सीमा क्षेत्र आसपासबाट फेरि सञ्चालनमा आएको थियो । नेपाल राष्ट्र बैंक छेउ र तीनपैनी चोकमा सुरेन्द्र जोशीले चलाउँदै आएको हुण्डीको काम भारतीय बजार जोगबनीमा सारेका थिए । तर, प्रहरीले हुण्डीमार्फत् रकम पठाउन जाने क्रममा ४० लाख नगदसहित जोशीका प्रतिनिधि पक्राउ गरेपछि जोगबनीमा सञ्चालन गरेको हुण्डी व्यवसाय बन्द गरेका थिए । सुनमा हुण्डीको कनेक्सन देखिएको र अन्य जिल्लाका कारोबारी पक्राउ परेपछि जोशी भारतमै बस्दै आएका छन् ।
विराटनगर नगरक्षेत्रभित्र ४० वटाभन्दा बढी मनि ट्रान्सफर सेवाका सञ्चालक, कतिपय बैंक तथा वित्तीय संस्था, विराटनगरका चर्चित औद्योगिक घरानाहरू समेतले हुण्डीको काम गर्दै आएका थिए । उनीहरू समेत पछिल्लो समय मौन रहेको बताइन्छ ।