संखुवासभाः एकल महिला समुह संखुवासभाले ६० वर्षमुनिका एकल महिला तथा अति अशक्त अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारसंग आग्रह गरेको छ । जिल्ला सचिब महेश्वरा श्रेष्ठ र कोषाध्यक्ष हेमकुमारी पोखरेलद्धारा मंगलबार जारी ध्यानाकर्षणपत्रमा लामो समयदेखि एकल महिला र अपांगता भएका व्यक्तिले पाउँदै आएको सामाजिक सुरक्षा रोकिएको बारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नरोक्न माग गरिएको छ ।


एकल महिला समुह संखुवासभाले कोभिड–१९ र लकडाउनका कारण उत्पन्न विषम परिस्थितिमा एकल महिला र अपांगता भएका व्यक्तिलाई सरकारबाट राहत लगायतका थप कार्यक्रम घोषणा हुनुपर्नेमा उल्टै सामाजिक सुरक्षा भत्तासमेत रोकिनु आपत्तिजनक भएको टिप्पणीसमेत गरेको छ ।


लकडाउनका कारण अपांगता भएका व्यक्तिहरूलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्त श्रवण भएकाहरूलाई राहत तथा सूचना र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै त्यस्तो समस्या समाधान गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल मार्फत एकल महिला समुहले मंगलबार ध्यानाकर्षण पत्र बुझाउदै केन्द्रमा पठाउन माग गरेका छन्

FB_IMG_1590496602449