विराटनगरः प्रदेश १ सरकारका बहुवर्षे योजना कटौतीमा पर्ने भएका छन् । सरकारले यस्ता योजनाको पुनः प्राथमिकीकरण गर्ने भएको हो । स्रोत अभावका कारण यस्ता योजनालाई कसरी संचालन गर्ने भन्ने छलफल हुने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् ।
बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री आङ्बोले वहुवर्षे योजनाको बारेमा सरकारले निर्णय लिन सक्ने बताए ।
उनले कोभिड १९ का कारण राजश्व, रोजगारी र उत्पादन जस्ता क्षेत्र प्रभावित हुने भएकोले प्रदेश सरकारलाई स्रोतको दबाब परेको सदन समक्ष जानकारी गराउँदै भने,“स्रोत सुनिश्चितता गरेर अगाडि बढेका बहुवर्षे योजनाहरु पुनः प्राथमिकीकरण गर्नु परेको छ । केहीलाई स्थगित गर्ने तयारी गर्दैछौं ।” पूर्व बजेट छलफल शुक्रबार समाप्त भएको छ । यसको छलफलमा दुई दर्जनभन्दा धेरै सांसदले भाग लिएका थिए ।
मन्त्री आङ्बोले स्वास्थ्य सेवालाई केन्द्र र उच्च प्राथमिकतामा राखेर बजेट आउने बताए । संगै शिक्षा, रोजगार, कृषि र अनिमात्र पूर्वाधार विकास समेटिने स्पष्ट गरे । भने,“कृषि उत्पादन बढाउन उत्पादनमा आधारित अनुदान दिने, बीऊ पूँजी उपलव्ध गराएर युवाहरुलाई उद्यममा लगाउने सरकारको तयारी छ ।”
अनुदानमा आधारित भन्दा पनि सहुलियतमा आधारित कृषि कार्यक्रम अगाडि बढाइने बताए । विशेष राहत प्याकेज पनि घोषणा गर्ने तयारी सरकारले गरेको छ ।