भोजपुरः कृषकलाई मल नपुगिरहेको अवस्थामा अनुदानको मल कालोबजारी गर्नेमाथि कारबाही गर्न छानविन समितिबाटै ढिलाई भएको छ । अनुसन्धानका लागि गठन भएकोे छानविन समितिले प्रतिवेदन बुझाउन आनाकानी गरेको छ । 

अरुण गाँउपालिकाको जरायोटारको भर्लाबोटस्थि गत जेठ ७ गते अनुदानमा ल्याइएको कृषि मलमा मनपरी ढंगले बेचविखन गरिरहेको भेटिएपछि छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाउन ढिलाई गरेको हो । छानविन समितिले अवैध रुपमा विक्री वितरण गरिरहेको मलको बारेमा नै प्रतिवेदन पेश गर्न आनाकानी गरेपछि दोषीमाथि कारबाही हुन नसकेको खुल्न आएको छ ।
पौवादुङमा गाउँपालिकाको अनुदानको मलको ठेक्का पाएको हाम्रो ट्रेड एण्ड सप्लायर्स तिवारीभञ्ज्याङका सञ्चालक कृष्ण कोईरालाबाट अनाधिकृत रुपमै स्थानीय व्यापारी भद्रमान भुजेलले मल किनेर विक्रि गरेको पाईएको श्रोतले बताएको छ । व्यापारी भुजेलले ठेकदार कोईरालामार्फत अनुदानको एकसय बोरा मलमध्ये ५३ बोरा युरिया मल विक्रि गरेको स्विकारेको छानविन समितिका एक सदस्यले बताए ।
सञ्चालक कृष्ण कोईरालाले अरुण गाउँपालिकाको चरम्वी, प्याउली लगायतको वडामा २ सय बोरा भन्दा बढि मल १ हजार ५ सय देखि २ हजारसम्मा विक्री गरेको एक स्रोतले बताएको छ । स्रोतका अनुसार केहि वर्ष अघिबाट त्यस क्षेत्रमा अवैधानिक रुपमा मल ल्याएर दिने गरेको छ ।
यता, समितिले प्रतिवेदन अन्तिम चरणमा पुगेको बताएको छ । समितिका सदस्य अनिष सुवेदीले सबै तथ्याङ्कहरु समेटिएको र बुझाउन मात्र बाँकी रहेको बताए । सम्पूर्ण आवश्यक प्रक्रिया पुरा गरी प्रतिवेदन पेश गर्न लागिएको सदस्य सुवेदीले बताए । यता, प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले पनि छानविन समितिलाई यथासिघ्र प्रतिवेदन बुझाउन भनिए पनि बुझाउन ढिलाई भएको बताए । प्रमुख जिल्ला अधिकारी पुरीले भने, ‘मैले चाँडोभन्दा चाँडो रिपोर्ट पेश गर्न भनेको थिएँ, तर अहिलेसम्म आएको छैन ।’
यसरी अनाधिकृत रुपमा एउटा गाउँपालिकाको अनुदानको मल अर्को गाउँपालिकामा कालोबजारी गर्नाले अन्य ठेकेदार कम्पनीलाई मल ढुवानीमा समस्या भएको एचपी सप्लायर्सका सञ्चालक निर्मला शेर्पाले बताईन् । ठेकेदार शेर्पाकाले भनिन् े, ‘मनपरी ढंगले मल बेच्नाले गाउँपालिकाको ठेक्का पाएको सप्लायर्सलाई मल ढुवानी गर्नै समस्या भएको छ ।’
सप्लायर्सका सञ्चालक कोईरालाले भने कृषि सामाग्री केन्द्रको मल नभई विभिन्न सहकारीमार्फत संकलन गरेको मल विक्रि गरेको बताए । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल स्थानीय व्यापारीमार्फत २ हजार रुपैँयामा बेचिरहेको पाईएपछि जिल्ला प्रशासनले मल सिल गरेको थियो । जिल्ला प्रशासनले सिल गरेको मल प्याउली प्रहरी चौकीमा राखिएको छ ।