विराटनगरः भोलिदेखि विराटनगरमा बजार मध्यान्न १२ बजेसम्म खुल्ने भएको छ ।
विराटनगर महानगरपालिकाभित्रका ब्युटिपार्लर,सैलुन र होटलबाहेकका अन्य सबै पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । व्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर बजार तथा पसल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए । विराटनगर महानगर क्षेत्रमा बिहानदेखि दिउँसो १२ बजेसम्म पसल खोल्न पाइने बुधबार निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर बजार खोलाउने निर्णय गरेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।
बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा व्यापार र व्यवसाय गरे नगरेको अनुगमनसमेत हुने पराजुलीले बताए । भने,“यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्नेछन् ।”यो निर्णय भएसंगै महानगर क्षेत्रमा बजार खुल्ने निश्चित भएको छ । व्यापारी तथा व्यवसायीले यो निर्णयको स्वागत गरेका छन् ।