विराटनगरः कोरोना महामारीका कारण किसानलाई परेको असर–नोक्सानी सम्बोधन गर्न प्रदेश १ सरकारले राहत प्याकेज घोषणा गरेको छ ।

यो कोरोना राहत रु. ४५ करोडको हुनेछ । सरकारको वार्षिक नीति तथा कार्याक्रम प्रदेशसभामा आज प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले कोरोनाबाट विदेशमा रोजगारी गुमाएर फर्कने युवाहरुका लागि पनि वैदेशिक स्वरोजगारीमुलक परियोजना संचालन गर्ने घोषणा गरेका छन् ।

कोरोना महामारीका कारण तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले भन्दै कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको प्यासीले जनाए । भने,“विषयगत रुपमा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने छ ।”

सरकारको नीति तथा कार्यक्रममा किसानका लागि रु. ४५ करोड राहत प्याकेज घोषणा गरिएको छ । कोभिड १९ कारण विश्वका विभिन्न भागबाट रोजागरी गुमाई प्रदेशका फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना संचालन गर्नेसमेत सरकारले तयारी गरेको छ ।

रोजगारी गुमाएर आउने विदेशबाट युवालाई उत्पादनीश, उद्योग तथा भौतिक विकासमा उच्च प्राथमिकता दिदैं शिक्षा,सुरक्षा र सुशासनलाई उचित प्रबन्ध गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश १ का करिब २ लाखसम्म युवा फर्कन सक्नेका आँकलन गर्दै यसरी फर्कने वा चाहनेका लागि रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने छ ।

“वैदेशिक रोजगारी गुमेका र यहींका बेरोजगारलाई कृषि कर्मको लागि तथा अनुभवयुक्त मानव पूँजी र आत्मविश्वासलाई पुर्नताजगी गर्न स्थानीय तह, सहकारी, निजी क्षेत्र र स्विस विकास कोरोना पुर्नउत्थान कोषमार्फत समेटिने छ,” प्रदेश प्रमुख प्यासीले भने,“मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि मेरो पौरख कार्यान्वयन गर्दै रोजगारीका लागि थप अवसर खोलिने छ ।

प्राकृतिक स्रोतको सम्भाव्यता हेरी एक जिल्ला एक उद्योग खोल्न अध्ययन र कार्यान्वयनमा दोहोरोपना आउन नदिन सार्वजनिक निजी साझेदारी प्रक्रियाअघि बढाइने छ ।