इलामः कोभिड १९ को महामारीमा फिल्डमै खटेर समाचार संकलनको कार्यमा लागिरहेका इलामका ५५ जना पत्रकारको कोरोना बिमा गरिएको छ । बिमा गरिएका पत्रकारहरुको पोलिसी हिजो हस्तान्तरण गरिएको छ । पत्रकार महासंघ प्रदेश नम्बर एकका उपाध्यक्ष सोमनाथ सुसेलीको पहलमा नेपाली कांग्रेसका नेता डम्बर खड्का र सुनचाँदी व्यवसायी धनमान बराइलीले आइएमइ लाइफ इन्स्योरेन्समा जिल्लाका क्रियाशिल ५५ जना पत्रकारको बिमा गरिदिएका हुन् । खड्काले ५० र बराइलीले ५ जना बिमा गरिदिएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षता र युवा समाजसेवी डम्बर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।
जिल्ला समन्वय समितिको समिक्षालयमा बिमा सम्बन्धी कागजात आइएमई लाइफ इन्स्योरेन्सका प्रतिनिधी सजित महत, दाताद्धय खड्का र बराइलीले महासंघ जिल्ला अध्यक्ष ढकाललाई हस्तान्तरण गरेका थिए । जिल्लामा संचालित एफएम रेडियोबाट ५ जनाका दरले दैनिक पत्रिका र अनलाईनबाट ३÷३ जनाका दरले र राष्ट्रिय मिडियामा जिल्लाबाट काम गर्ने पत्रकारको गरी जम्मा ५५ जनाको बिमा गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले पत्रकारहरु परनिर्भर नभई स्वतन्त्र हुनुपर्ने बताए । पत्रकारहरुको कलम कसैको डर त्रास र लोभमा नभई जनताको पक्ष र चासोको बिषयमा चल्नुपर्ने उनले धारणा राखे । पछिल्लो समय पत्रकारिता जगत खस्कदै गएकाले त्यसको गरिमा कायम राख्न सवै पत्रकारहरुको कलम राजनितिक स्वार्थ भन्दा माथी उठ्नुपर्ने बताए । कार्यक्रमका अतिथि व्यवसायी धनमान बराइलीले इलाम अस्पतालको क्षमता विस्तारका साथै सेवा सुविधा थपका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने अवस्था आएको बताए । उनले महामारीको अवस्थामा अस्पतालमा पर्याप्त सेवा सुविधा हुन नसक्दा इलामे जनताले समस्या भोग्नुपरेकाले त्यस बिषयमा संचारकर्मी एवम पत्रकारको कलमले सरोकारवाला पक्षको ध्यानार्कषण गराउनुपर्ने बताए ।
प्रदेश उपाध्यक्ष सुसेलीले पत्रकारहरुको लागि कोरोना बिमाको आवश्यकताको बारेमा धारणा राख्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे । प्रेस संगठन इलामका संयोजक सुजन तिमसिनाले कोरोनाको कारण इलामका मिडियाहरु धरासायी बन्दै गएकाले सवै एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले सवै जना एक थलोमा उभिएर संचारमाध्यम बचाउनु अहिलेको पहिलो आवश्यकता देखिएको बताए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी हरि दाहालले समेत आफनो धारणा राखेका थिए । बिमा गरिएका पत्रकारहरुको पिसिआर टेस्ट पोजेटिभ देखिएको बिमा कम्पनीले १ लाख रुपैया उपचारका लागि प्रदान गर्ने छ ।