विराटनगर :नेकपाका प्रदेश सांसद सर्वध्वज साँवाले कोरोनाको विषम् परिस्थितिमा पनि प्रदेश १ सरकारले नीति तथा कार्यक्रम ल्याउन सकेको भन्दै त्यसलाई ‘फ्लाइङ किस’ दिएका छन् ।
आगामी आर्थिक बर्षकालागि प्रस्तुत गरेको निती कार्यक्रमको आइतवारको छलफलमा पुर्ण सर्मथन गर्दै सत्तापक्षका सांसद साँवाले रोष्ट्रमबाटै दुबै हात उचालेर मुखले चुम्नबन गर्दै प्रदेश नं १ सरकारलाइ ‘फलाईङ किस’दिएका हुन् ।

नीति तथा कार्यक्रममाथि आज सुरु भएको छलफलमा सहभागी हुँदै साँवाले भने, “कोरोनाले विश्वका ठूला ठूला देश प्रभावित भएका छन् । कहाँ यसरी संसद बैठक चलाउन सकेका छन् ? बरु यहाँ त सरकारले चलाएको छ । यस्तो परिस्थितिमा आएको नीति तथा कार्यक्रमलाई म फ्लाइङ किस दिन चाहन्छु ।” उनले रोस्ट्रमबाटै २४ बुँदा ४८ पन्नाको नीति तथा कार्यक्रम बहुत राम्रो भएको भन्दै हात उठाएर फ्लाइङ किस दिए ।
सांसद साँवाले “नीति कार्यक्रमलाई छातीभरि माया दिन अँगालोमा बाँध्न चाहन्छु” भन्दा सदनमा हाँसोमो फोहरा छुटेको थियो । सदनमा सहभागी मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की आपसमा मुखामुख गर्दै मुस्कुराएका थिए । विपक्षी सांसदको मुखमा पनि हाँसो देखिन्थ्यो ।

सांसद सावाँले आफ्नो क्षेत्रमा परेका योजनाहरूलाई समयमै कार्यान्वयन गर्ने बताउँदै भने, “यस्तो लकडाउनका बेला पनि आयो पो त १ जे भए पनि आयो त । गुनासो पो गर्छन् त साथीहरू सबै लक भएर बसेको भए ?

कहाँ सदन चलेको छ त विश्वमा ?” उनले प्रदेश १ ले राम्रो काम गरेको गौरव मान्नुपर्ने बताए । साँवाले प्रदेश १ मा बसोबास गर्ने जनसमुदायको भावनलाई पनि समेट्नुपर्ने भन्दै ऐतिहासिकताहरूलाई समेट्न सुझाव दिए । “मुन्धुम र वेदहरूलाई समेट्नुपर्छ । छुटेको हो कि ?” उनले भने, “गढीहरू पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छन् । ऐतिहासिक र जातीय हिसाबले पनि महत्त्वपूर्ण छन् । पर्यटकीय रूपमा विकास गर्नुपर्छ ।”