इटहरीः जनता समाजवादी पार्टी इटहरी उपमहानगर कमिटीले कोरोना संक्रमण नियन्त्रण र लकडाउनका अवधिमा इटहरी उपमहानगरबाट राहत वितरणका नाममा भएका खर्च विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ । आज सो पार्टीको इटहरी उपमहानगर कमिटीले एक पत्रकार सम्मेलनको आयोजना गरि सो माग गरेको हो ।
जनता समाजवादी पार्टी इटहरी उपमहानगरका अध्यक्ष डिल्ली सुब्बाले इटहरी उपमहानगरमा कोरोना संक्रमण रोगथामका लागि सरकारले गरेको लकडाउन देखि हालसम्म कहाँ कहाँबाट के कति रकम, जिन्सी समानहरु उपमहानगरमा जम्मा भयो ? के कसरी कति जनालाई राहत वितरण गरियो ? हालसम्म कति खर्च गरियो ? के कसरी खर्च गरियो ? आम इटहरीबासीलाई स्पष्ट हुने गरि खर्च विवरण सार्वजनिक गर्नु पर्ने बताए । उनले इटहरी उपमहानगरमा राहत वितरणका नाममा मनपरी भएको बताए । वास्तविक धेरैले राहत पाउन नसकेको बताए । पत्रकार सम्मेलनमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य पदम अधिकारीले तीन तल्ला घर भएका, राम्रो व्यवसाय चलाएका र सरकारी जागिरेहरुलाई समेत नेकपा र नेपाली कांग्रेसकै कार्यकर्ता भएका कारण उपमहानगरले राहत प्रदान गरेको प्रमाण आफुसंग रहेको बताए ।
उनले राहत वितरण र कोरोना नियन्त्रणका नाममा बिभिन्न शिर्र्षकमा गरिएको खर्च पारदर्शी नभएको बताए । उनले इटहरी उपमहानगरबाट ठूलो अनियमितता भएको दावी गरे । इटहरी उपमहानगरभित्र नेकपा र नेपाली कांग्रेसको मिलिभगतमा पहिलाबाटै व्यापक अनियमितता हुँदै आएको बताए । कोरोना नियन्त्रण र राहत वितरणका नाममा पनि वडा वडामा नेकपा र नेपाली कांग्रेस मिलेर अनियमितता गरिरहेको आरोप पनि लगाए ।
पत्रकार सम्मेलनमा सहभागी पार्टीका सल्लाहाकार धु्रव सुब्बाले इटहरी उपमहानगरमा आफ्नो पार्टीलाई हरेक गतिविधिका माइनस गर्दै आएको बताए । उनले अब जनता समाजवादी पार्टी इटहरी सरकारको हरेक गतिविधिहरुलाई गम्भिर रुपमा हेर्ने र हिसाब किताब पनि खोज्ने बताए । उनले पनि स्थानीय सरकारका रुपमा रहेको इटहरी उपमहानगरका हरेक कार्यहरु पारदर्शी हुनु पर्ने बताए । हालसम्म आम नगरवासीलाई जानकारी हुने गरि लकडाउन भएयताका खर्च विवरण सार्जनिक नगरिएकोमा आपत्ति जनाए । उनले इटहरी सरकारले तत्काल सार्वजनिक गर्नु पर्ने बताए ।
पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै पार्टीकी इटहरी उपमहानगरपालिकाकी सचिव यमुना(योसा) गुरागाईले कोरोना संक्रमणपछि भएको लकडाउनका कारण व्यवपार व्यवसायमा ठूलो असर परेकाले जनता समाजवादी पार्टी इटहरीका नगर कमिटी अध्यक्ष डिल्ली सुब्बा, केन्द्रिय सल्लाहाकार धु्रव सुब्बा, नगर सदस्य इन्दु तुम्बाहाम्फे, उदयलाल भगत,राजकुमारी भगत र माधुरी राईले एक महिनाको घरभाडा नलिने घोषणा गरेको बताइन् । घोषणा गरिएका सबैको घर इटहरीको मुख्य चौंक आसपासमै रहेको छ । सबैको घरमा बैंक, वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान लगायतका व्यवासायीक प्रतिष्ठानहरु भाडामा संचालित छन् ।
लकडाउन शुरु हुन साथ कतिपय इटहरी उपमहानगरका आफुलाई ठूला पार्टी भन्नेहरुले घरभाडा छुट दिने बताएपनि हालसम्म कार्यन्वयन नगरेको र कतिपयले त भाडामा लिएर व्यवसाय संचालन गर्नेहरुलाई छुट दिनका लागि चासै नदिएकाले आफुलाई ठूला पार्टी भनाउँदाहरुले पनि आफुहरुबाट पाठ सिकुन भन्ने पनि उद्धेश्य राखी आफु लगायतकाले एक महिनाको घर भाडा छुट दिइसकेको जनता समाजवादी पार्टी इटहरी उपमहानगर कमिटी अध्यक्ष सुब्बाले बताए ।
यसैबीच सो पत्रकार सम्मेलनमा सो पार्टी निकट समाजवादी उद्योग, वाणिज्य तथा व्यवसाय महासंघ इटहरीले बढ्दो कोरोनाको जोखिमबाट बच्ने उपाय सहितको एक तालिका निर्माण गरि इटहरीको व्व्यपार व्यवसाय संचालनको वातावरण बनाउन माग गरिएको छ ।