इटहरीः प्रतिदिन नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्याबढीरहेकाले त्यसको जोखिमबाट बच्ने गरि तालिका मिलाएर सबै खालका व्यवसाय संचालन गर्न उपयुक्त वातावरण बनाउन समाजवादी उद्योग , वाणिज्य तथा व्यवसाय महासंघ इटहरी उपमहानगर समितिले माग गरेको छ ।
सो महासंघले स्थानीय सरकारका रुपमा रहेको इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी, जिल्ला प्रशासन कार्यालय सुनसरी, नेकपा इटहरी, नेपाली कांग्रेस इटहरी र जनता समाजवादी पार्टी इटहरीलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
महासंघले केही दिनअघि सबै खालका व्यवसायलाई एकै पटक संचालन गर्ने जिल्ला प्रशासनबाट आएको आदेशले व्यवसायी र उपभोक्तामा समेत जोखिम बढाएकाले कुनै पनि व्व्यवसायीलाई असर नपर्ने खालको उपयुक्त समय तालिका निर्धारण गरि व्यवसाय संचालन गर्दा मात्रै इटहरी क्षेत्रलाई कोरोना संक्रमण हुनबाट जोगाउन सकिने महासंघले सरोकारवालाहरुलाई बुझाएको ध्यानकर्षणपत्रमा उल्लेख गरिएको छ ।
महासंघकी इटहरी उपमहानगर समितिकी अध्यक्ष इन्द्र माया आङ्बुहाङद्धारा हस्ताक्षरीत ध्यानकर्षणपत्रमा समय तालिका समेत समावेशी गरिएको छ । होटल, चिया पसल, व्यूटिपार्लर र शैलुन लगायतका व्यवसायलाई पनि संचालन गर्ने उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड समेत दिइएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि सरकारले जारी गरेको लकडाउनका कारण इटहरी क्षेत्रका व्यवसायीहरु बिछिप्त भएकाले उनिहरुलाई पुनः आफ्नो व्इवसायलाई सहज तरिकाले संचालन गर्नका लागि आवश्यक वातावरण सृजना गर्न इटहरी सरकारले पनि केही न केही राहतको प्याकेज ल्याउनु पर्ने माग महासंघकी नगर अध्यक्ष आङ्बुहाङले गरेकी छन् ।