इटहरीः प्रदेश १ सरकारले पर्यटन प्रर्बधन र पूर्वाधार विकासका लागि १ अर्व १९ करोड १० लाख बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री इन्द्र आङ्बो मौसमले बजेट सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएका हुन् ।
आर्थिक समृद्धिको आधार, पर्यापर्यटन, उद्योग र व्यापार भन्ने अवधारणा अनुरुप प्रत्येक जिल्लाको पर्यटकीय गुरुयोजना निर्माण र महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकास गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रहरूको संरक्षण र विवेकपूर्ण उपयोग गर्दै पर्यापर्यटनको गन्तव्यको रूपमा विकास गरिनेछ।
सो बजेटबाट सम्भाव्य पर्यटकीय गन्तव्यहरुको पहिचानका साथै प्रमुख पर्यटकीय स्थल, प्राकृतिक एवम् ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, राष्ट्रिय सम्पदा र उद्यानहरुलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड दिईनेछ। स्थानीय तहसँगको समेत सहभागितामा ग्रामीण विकासको लागि पदमार्ग पर्यटनको विस्तृत परियोजना तयार गरी कार्यान्वयन शुरु गरिनेछ। यसको शुरुवात मुन्धुम (ट्रेल) पदमार्गको निर्माण कार्यबाट शुरु गरिनेछ।

ऐतिहासिक एवम् पुरातात्विक दरवारहरु विजयपुर, चौदण्डीगढी, हतुवागढी, हिलिहांग, विराटदरवार र किचकबधको संरक्षण र आवश्यक पूर्वाधारको निर्माणको लागि बजेटको व्यवस्था गरेको छ । धार्मिक पर्यटकीय क्षेत्रहरु हलेसी, वराहक्षेत्र, टेम्के, मांङसेवुंङ, सिलौटी, लब्रेकुट्टी र पाथिभरा क्षेत्रहरुको संरक्षण, सम्बर्ध्दन र आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
विभिन्न कालखण्डमा भएका जनक्रान्तिका शहिद, बेपत्ताहरु, राजनेता, जननेताहरुको नाममा गठित प्रतिष्ठानहरुको पूर्वाधार निर्माण र मोरंगको बेलवारी स्थित जनयुध्द स्मृति संग्राहलय निर्माणमा सहकार्य गरिनेछ । राजनीतिक, जातीय,क्षेत्रीय संग्राहलयको निर्माणको लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।