बराहक्षेत्र : आर्थिक वर्ष २०७७÷०७८ का लागि स्वास्थ्य, कृषि, शिक्षा, रोजगार र भौतिक विकासलाई नगरले बजेटको प्राथमिकीकरणमा राख्न सुझाउदै नेकपा बराहक्षेत्रले नगरलाई सुझाव प्रतिबेदन बुझाएको छ। वराहक्षेत्र नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी सरोकारवालासँग राय, सुझाव संकलन गर्न कार्यदल गठन गरी नेकपा नगर कमिटीले गत जेठ १६ गतेदेखि विभिन्न २० सरोकारवालासँग अन्तरक्रिया गरेको हो।
मंगलबार संकलित सुझाव नगर प्रमुख निलम खनाललाई बुझाउदै नेकपाले सरोकारवालासँगको विषयगत छलफल आर्थिक, वर्ष २०७७÷७८ को संघ प्रदेशको नीति कार्यक्रम मस्यौदा बजेट, पार्टी घोषणा–पत्र, दीगो विकासका १७ लक्ष्य र वडाबाट प्राप्त सुझावलाई प्रतिवेदनको आधार मानेको सुझाव संकलन कार्यदलका संयोजक पुष्प ढुंगानाले जानकारी दिए ।
नेकपाले कार्यदल गठन भएसँगै स्थानीय सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी, जनजाति, दलित, महिलालगायतका सरोकारवालासँग अन्तक्र्रिया गरेको नेकपा नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए । उनले आफू नगर अध्यक्ष भएपछि पहिलोपटक सुझाव प्रतिबेदन प्रदान गरेको र नगरले गर्ने हरेक कार्यप्रती अबको नेकपा बराहक्षेत्रले विशेष निगरानी गरि सहयोग, सल्लाह, सुझाव दिदै गर्ने बताउदै आएका छन।
नेकपाले नीतिगत सुझावअन्तर्गत शहरीकरणको योजनासहित खानेपानी, सरसफाइ, ढल निकासा, विद्युत विस्तार, दूरसञ्चार सेवासँग आवश्यक समन्वय गरी वातावरणमैत्री कार्य योजना बनाउन र नगर प्रोफाइल तयार गर्न भनेको छ । अव्यवस्थित बसोबासको नियमन र नियन्त्रण, व्यवस्थित बासोबासको प्रबन्ध, अव्यवस्थित रूपमा भएको प्लटिङलाई करको दायरामा ल्याउन सुझाव दिइएको छ । नेकपा वराहक्षेत्रले नगरको नीति तथा कार्यक्रममा कोशी बाढीपीडित, सुकुम्बासी, ऐलानी समस्या समाधानमा हालसम्म स्थानीय सरकारको तर्फबाट भएका उपलब्धीलाई सार्वजनिकीकरण गरी समाधानका लागि प्रदेश र संघीय सरकारसँग पहल जारी राख्न सुझाएको छ ।
यस्तै कोशीटप्पु आसपासका वडामा जंगली जनावारबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न र श्रीलंका टप्पुमा बसोबास गरेका स्थानीयलाई केन्द्रित गरी एकीकृत योजना बनाउन सुझाव दिएको छ ।
सुझावमा चक्रघट्टीस्थित स्वास्थ्य चौकी र वराहक्षेत्र नगर अस्पताललाई समायोजन गर्नेदेखि, आयुर्वेदिक विश्वविद्यालयको स्थापनामा बजेट विनियोजन गर्ने, ‘राहतका लागि रोजगार’ कार्यक्रम सञ्चालन गर्ने, घुम्ती नगर बस सञ्चालन गर्ने, जेटबोटलाई एकद्वार प्रणालीअन्तर्गत सञ्चालन गर्ने, सडक स्तरोन्नति गर्ने, सुशासनलाई प्रभावकारी बनाउने लगायतका सुझाव समेटिएका छन् ।
नेकपा सुनसरी जिल्ला सचिवालय सदस्य तथा वराहक्षेत्र नगर सहइञ्चार्ज पुष्प ढुंगानाको संयोजकत्वमा ८ सदस्यीय गठित कार्यदलको सदस्यहरुमा वराहक्षेत्र नगर प्रमुख निलम खनाल, उपप्रमुख कमला मगर, नेकपा वराहक्षेत्र अध्यक्ष कमल कट्वाल, सचिव गजेन्द्र थापा, सदस्य माधव तिम्सिना, वडाध्यक्ष फडिन्द्र भट्टराई र दीपक लिम्बू रहेका थिए ।