भोजपुर: प्रतिनिधी सभा सासंद सुदन किराँतीले वर्षमा एक दिन फोटो खिच्न आउने अरु दिन किसान विर्सिने प्रवृतिले कृषि पेशा माथि उठ्न नसकेको बताएका छन् । 

धान दिवसको अबसरमा भोजपुरमा आयोजित रोपाईँ कार्यक्रममा बोल्दै सांसद किराँतीले ठुला नेता, मन्त्री, उच्चस्तर पदका पदाधिकारीहरु वर्षमा एकदिन धान दिवसको फोटो खिचाउने, हिलो खेल्ने र बाँकी ३ सय ६४ दिन कृषि र किसानलाई विर्सिने प्रवृतिले कृषिमाथि उकास्न नसकिएको बताएका हुन् । उनले भने, ‘कृषिलाई प्राथमिकता नदिँदा भविष्यमा भोकमरी नआउला भन्न सकिन्न, जसले नेपाल जस्तो कृषिप्रधान देशमा खाद्य संकट आउनेछ’ ।

उृक्त कार्यक्रममा सासंद किराँतीले कुनै पनि किसान मल, बिउ, सिँचाई अभावले बसाई जानुको विकल्पमा सशक्त भएर जागृत हुनुपर्ने बताएका छन् ।
किँरातीले वर्तमान अवस्थामा मल, विउ र सिँचाई अभावले जमिन बाँझिनाले कृषि क्षेत्रमा पुग्न गएको असरप्रति किसान नै आँफै जागरुक हुनुपर्ने बताएका हुन् ।

यतिबेला देशभर मलको हाहाकार मच्चिएको छ । किसानलाई मल नहुँदा सोचे अनुरुप खेती गर्न सकेका छैनन् । खेतीको सिजनमा मलको अभाव खेपिरहेका किसानलाई सरकारले वेवास्ता गरेको सांसद किँरातीले भने । ‘कृषि प्रधान देशमा किसानलाई नै मल छैन, यसबारे सरकारले गम्भिरता लिएको छैन, मानो खाएर मुरी उब्जाउने बेला यस्तो समस्या छ’ किँरातीले भने, ‘अब किसानले पनि बसाई जाने सोच्नुभन्दा यहिँबाट आवाज बुलन्द गर्नुपर्छ’