विराटनगर :प्रदेश १ की सांसद उषाकला राईले स्वदेशी घरेलु मदिरालाई ‘ब्राण्ड’ गर्ने र विदेशी उत्पादनलाई ‘ब्यान्ड’ गर्नुपर्ने बताएकी छिन् ।

सोमबार प्रदेशसभा बैठकमा उनले स्वदेशी बहुमूल्य जडिबुटीहरूलाई प्रतिबन्ध गर्ने र विदेशीलाई ब्राण्डिङ गर्ने काम भएको बताएकी हुन् । विनियोजन विधयेकमाथिको छलफलमा उनले नेपाली उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिइन् ।

लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने सांसद राईको भनाई थियो । ‘हामीले लोकल रक्सीमा व्याण्ड लगायौं, रातो चन्दनमा लगायौं, गाँजामा लगायौं, आफ्नो बहुआयमिक जडीबुटीमा प्रतिबन्ध लगायौं, अनि विदेशी उत्पादनलाई हायर गर्ने, विदेशी रक्सी छ्याप–छ्याप्ती विक्री वितरण गर्ने वातावरण बनायौं,’ सांसद राईले भनिन्, ‘अव विदेशी रक्सीलाई व्याण्ड गरौं, नेपाली लोकल रक्सीलाई ब्राण्ड बनाऔं । अर्थात व्याण्ड भर्सेज ब्राण्डको नीति अपनाऔं ।’

केही समयअघि खोटाङमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन् । हाल आदिबासी जनजाती महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल रक्सीलाई बैध उद्योगकारुपमा बिकास गर्न सके अन्य जातजातीका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईको भनाई थियो। ‘व्याण्ड गर्ने हो भने सबै खालका रक्सीलाई व्याण्ड गरौं । होईन भने लोकल रक्सीलाई लिगलाइज गरौं, घरेलु उद्योगकारुपमा बिकास गर्नमा ध्यान दिऔँ,’ राईले भनिन्, ‘चेयर्स गर्दा लोकल रक्सीले गर्ने हो, विदेशको रक्सी ल्याएर चेयर्स गर्ने होईन । हामीले यस्तो कन्सेप्ट लिनु पर्यो।’

उनले खानै नहुने भए सबै बन्द गर्नुपर्ने बताइउँदै नेपालको गाँजा अन्यत्रको भन्दा धेरै अन्तर रहेको बताउँदै विदेशीहरूले नेपालको जस्तो गुणस्तरको गाँजा उत्पादनको लागि धेरै प्रयोग गरिहेको बताइन् ।

६० गुणा इम्यूनिटी पावर बढाउन सक्ने गुर्जो, भियाग्रा जस्ता जडिबुटिबाट बनाएको रक्सी ५ सय डलर प्रतिबोतलमा विदेशीलाई बेच्न सकिने उनको तर्क थियो ।

विनियोजन विधयेकको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमाथिको शीर्षकमा बोल्दै सांसद राईले राष्ट्रवाद राष्ट्रवाद भनेरमात्र नहुने त्यसलाई व्यवहारमा देखाउनुपर्ने बताइन् ।