विराटनगरः मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत विनियोजनको विधेयकका शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा उनले सांसदले उठाएको प्रश्नको जवाफ दिएका हुन ।

चालू आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि अति नै थोरै बजेट रहेको स्पष्ट गरेका छन् । भने,“प्रदेश १ अब डिजिटल प्रदेश बन्ने तयारीमा रहेकोले मुख्यमन्त्री ड्यासबोर्डका लागि केही बजेट छुट्याइएको छ ।” यसैगरी झापाको प्रशिक्षण केन्द्र कलबलगुढी प्रदेश सरकार मातहत आएकोले त्यसमा केही बजेट राखिएको बताएका छन् ।

मन्त्रालयगत रुपमा जवाफ दिने क्रम टुंगिएपछि मुख्यमन्त्री राईले आफ्नो कार्यालको विषयमा सदनमा उठेका सवालबारे जवाफ दिएका हुन । मन्त्रालयका योजना पछाडिको ढोकाझ्यलाबाट योजना प्रवेश गराउने काम रोकिएको स्पष्ट गरे । भने,“सडकमा यो लागू नभएको हो तर सिंचाई खानेपानी आदि आयोजनामा सांसदसंग सरसल्लाह भएका छन् ।” उनले यस विषयमा मन्त्रीहरुले पनि सांसदसंग छलफल गर्नुपर्ने बताए ।

प्रदेशको विकास नै पहिलो प्राथमिकता भएको कमजोरी सुधार गर्न समस्या भएको बताउँदै नयाँ भएकोले प्रदेश सरकारलाई तिथि र विधि बसाल्न समय लाग्ने बताए । भने,“हामी सुधार हुन सकारात्मक छौं । सांसदहरुले गर्ने खबरदारीलाई मान्छौं ।” उनले सरकारले गरेका राम्रा कामको खुलेर प्रशंसा गर्न कन्जुस्याईं नगर्न पनि सांसदहरुलाई आग्रह गरेका छन् ।