इटहरी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुको सरुवा गरेको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ ।
६३ जना सहसचिवहरुमध्ये धेरैजसोलाई काठमाडौं बाहिर पठाइएको छ । मन्त्रीयस्तरमा यो निर्णय यही असार १९ गते नै भए पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ ।
काठमाडौंमा भएकी कर्मचारी अन्तजान नमान्ने साथै विभिन्न गुनासो बढेपछि मन्त्रालयले यति ठुलो संख्यामा कर्मचारीको सरुवा गरेको बताएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयका सरोज गुरागाईलाई प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा, शोभाकान्त पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कामकाजको लागि खटाइएको छ ।
यसैगरी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी चन्द्रकला पौडेललाई गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृह मन्त्रालयका राजेश पौडेललाई हेटौंडा उपमहानगरपालिकामा कामकाजका लागि खटाइएको छ ।
उद्योग मन्त्रालयकै प्रदीपराज अधिकारीलाई जितपुर सिमरा उपमहानगरपालिकामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका महेश बराललाई पोखरा महानगरपालिकामा, श्रम मन्त्रालयका रामचन्द्र ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काशीराज दाहाललाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, अख्तियारकै प्रदीप कुमार कोइरालालाई पर्यटन मन्त्रालयमा र अर्थमन्त्रालयका भुपाल बराललाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा पठाएइको छ ।