इटहरीः एक साता अघि सुनसरीको हरिनगरमा हत्या गरिएका खुर्शीद आलमका हत्यारालाई सरकारले समातेरै छाड्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज काठमाडौंमा आलमका परिवारसँगको भेटमा हत्यारालाई कुनै पनि हालतमा समातिने आश्वासन उनले दिएका हुन् ।
आलमको असोज ४ गते सुनसरीको हरिनगरमा प्रहरी चौकीदेखि ७ सय मिटर टाढा हत्या भएको थियो । मन्त्री बादलले घटनालाई सरकारले गम्भीर रूपमा लिएको भन्दै दोषी पत्ता लगाउन सरकार लागि परेको बताएका छन् । अनुसन्धान जारी रहेको पनि उनले जानकारी दिएका थिए ।
उनले सरकारले आलमलाई शहीद घोषणा गरेको स्मरण गराउँदै चाँडै राज्यबाट प्राप्त आर्थिक सहयोग परिवारलाई उपलब्ध गराउने पनि मन्त्रीले जानकारी दिएका छन् ।
मृतकका परिवारका तर्फबाट काका जमिल आलम र भाइ जाबेद आलमले मन्त्रीलाई भेटेका थिए । उनीहरूले घटनामा संलग्नलाई चाँडो भन्दा चाँडो पक्राउ गर्न सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।