इटहरी:  इटहरी उपमहानगरले कृषिमा नयाँ नीति लिएको छ । पालिकाले आगामी बर्ष २०७७÷७८ मा इटहरी नगरलाई बाँझो जग्गा राख्न नपाइने साथै दुध, माछा मासु तथा तरकारीमा आत्मनिर्भर गराउने लक्ष्य राखेको छ । गत वर्षको तुलनामा यस बर्ष अन्य शीर्षकमा रकम घटेपनि कृषिमा भने दोब्बर बजेट बढाएको छ ।

गाउँका नागरिकको आर्थिक स्तर उकास्न तथा स्थानीय युवाहरुलाई रोजगारको ब्यबस्था गर्न यस्तो नीति लिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । यसका लागि नगरले ३ करोड ७५ लाख रकम समेत छुट्याएको जुन बजेट गत वर्षको करिब दोब्बर बढि भएको उपमेयर गौतमको भनाई छ । यसका लागि सम्पूर्ण वडाका कृषकहरुलाई आबश्यक तालिम दिई अनुदानको ब्यबस्था गरेको मेयर द्वारिकलाल चौधरीले बताए ।

नगरले कृषकलाई कुखुरा पालन, कोरली गाई, बाख्रा तथा बगुंरपालन प्रदान गर्ने योजना रहेको मेयर चौधरीको भनाई छ ।

पालिकाले चालु आर्थिक बर्षमा इटहरी वडा नम्बर १, २, २० का ७५ जनालाई शतप्रतिशत अनुदानमा कोरली गाई, १३, १४, १५ वडाका ९० जना कृषकलाई प्रत्येक २ वटा बाख्राको दरले वितरण गरेको छ । यस्तै १५ वटा वीउ बोका, करिब ८० वटा बंगुंर वितरण गरिसकेको उपमेयर गौतमले बताईन् । यो कार्यक्रम अन्तर्गत एक वर्षमा ४० वटा कृषि समूह र एक हजार ७६ किसानले बिभिन्न शीर्षकमा कृषकले लाभ लिएको पालिकाले जनाएको छ ।

यस्तै इटहरी क्षेत्र भित्रका जग्गा बाँझो राख्न नपाईने नीति लिएको छ । यसका लागि कृषकलाई प्रोहत्सान गर्दै हाते ट्याक्टर अनुदानमा दिने ब्यबस्था गरेको छ । चालु आर्थिक वर्षमा कृषकलाई ८० प्रतिशत अनुदानमा २२ वटा हाते ट्याक्टर वितरण गरिसकेको पालिको भनाई छ ।