इटहरी :आगामी आर्थिक वर्ष २०७७÷७८ को वजेटमा इटहरी उपमहानगरले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने देखिएको छ ।

गत १० गते इटहरीको नीति तथा कार्यक्रममा उपमेयर लक्ष्मी गौतमले स्वास्थ्य क्षेत्रलाई सुधार र विकास गर्ने बताएकी थिइन् । इटहरी पालिका भित्र रहेका एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ वटा स्वास्थ्य चौकि र तीन वटा शहरी स्वास्थ्य क्लीनिकहरु संचालनमा रहेका थिए । तलत्तै जनप्रतिनिधि आएपछि इटहरी चोकबाट नजिकै पर्ने प्राथमिक स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै इटहरी अस्पताल बनाइएको छ ।

अस्पताल बनाइए पनि पर्याप्त स्वास्थ्यकर्मी नभएकाले आगामी वर्ष देखि थप जनशक्ति थप्ने योजना रहेको नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै इटहरी अस्पताल परिसर भित्र ३३ कोठे नयाँ भवन निर्माणको कार्य अगाडी बढिरहेको तथा अस्पतालको आफनै एम्बुलेन्स सेवा केही समयमा शुरु हुने उक्त बजेटमा समेटिएको छ । आगामी आर्थिक वर्ष देखि खनारमा रहेको स्वास्थ्य चौकीमा ल्याव र बर्थिङ सेन्टरको स्थापना गरिने बताइएको छ ।

वाड नंं. २ र १७ मा रहेका आयुर्वेद औषधालयका चिकित्सक र स्वास्थ्यकर्मीहरुबाट थेरापी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा प्रदान गरिदै आएकोमा आगामी आर्थिक बर्षबाट आयुर्वेदिक औषधालयहरु मार्फत प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने भएको छ ।

त्यस्तै वाड नंं १ मा एक नयां आयूर्वेद तथा प्राकृतिक चिकित्सा स्वास्थ्य केन्द्रको स्थापना गरी संचालन गरिने नीति तथा कार्यक्रममा राखिएको छ । यस्तै नगरभित्र बसोबास गर्ने गरीब, दलित तथा विपन्न एक हजार परिवालाई पालिका आफैंले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम समेत उल्लेख गरिएको छ । उपमहानगरले स्वास्थ्य क्षेत्रको सेवा विस्तार सुदृढिकरण स्तरोन्नतीका लागि रु २ करोड ५० लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षको कार्यक्रम भन्दा यो वर्ष स्वास्थ्यका क्षेत्रमा पालिकाले उल्लेखीय रुपमा स्वास्थ्य क्षेत्र समेटेको भन्दै इटहरी अस्पतालका इमरजेन्सी स्वास्थ्य शाखा प्रमुख रामकुमार धमलाले सबैले साथ दिनु पर्ने आग्रह गरे ।

तर यता इटहरीबासी युवा विभिन्न तथा विभिन्न संघ, संस्थाले चुनावको घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा लेखिएको शब्द काममा उतार्नु पर्ने बताएका छन् । इटहरीमा सुविधा सम्पन्न अस्पताल बनाउँछौं भन्दै भोट मागेको तर जितेपछि चुपचाप बसेको भन्दै जनतालाई दिएको बचन पुरा गर्नु पर्ने युवा सम्राट थापाले बताए ।