इटहरी : इटहरी उपमहानगरपालिकाले मुसहर बस्तीका लागि निर्माण गरेको घर निर्माण कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
‘तराई मधेश समृद्धि कार्यक्रम’ अन्तर्गत इटहरी–१६ उब्दी गाउँमा निर्माण भइरहेको काम अन्तिम चरणमा पुगेको हो । अहिले घर वाल (गारो) लगाई सकिएको बाँकीं छाना हाल्ने काम भइरहेको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए ।
नगरपालिकाले करिब ६६ लाख रकम विनीयोजन भएपनि मिना सन्तोष निर्माण कम्पनीले कर बाहेक ४५ लाख २८ हजारमा ठेक्का पाएको थियो । गत साल चैत्रमा निर्माण कम्पनीले काम सुरु गरेपनि लकडाउनका कारण एक महिना ढिला पछि २०७७ बैशाख महिना काम सुरु गरिएको इटहरी ईन्जिनियरिङ्ग शाखा प्रमुख जीवन घिमिरेले बताए ।
क्रमागत रुपमा विकास गरिने उक्त मुसहर बस्ती निर्माण भएसगैं पहिलो चरणमा ९ घरपरिवार बस्ने पाउने छन् । अबको २ वर्ष भित्रमा ५० घरपरिवारलाई मुसहर वस्तीमा घर निर्माण गरी ब्याबस्थापन गरिने उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले भनिन्–“सडक योजना बहुवर्षे परे सगैं बाटो छेउमा भएका घर टहरा हटाउनु गर्ने भएकाले सो मुहसर बस्ती निर्माण गरिएको हो ।”
करिब एक बिघा १० कठ्ठा जग्गामा निर्माण भइरहेको बस्ती अबको १५ दिन भित्रमा कार्य सम्पन्न भई बस्ती बसालिने मेयर चौधरीको भनाई छ ।